कभर्ड हल निर्माण गर्न पहल गर्ने खेलकुदमन्त्री गुप्ताकाे घोषणा

कार्तिक १५, २०८२ |खेल ब्युरो
कभर्ड हल निर्माण गर्न पहल गर्ने खेलकुदमन्त्री गुप्ताकाे घोषणा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेल भलिबलका लागि काठमाडौंको लाजिम्पाटमा कभर्ड हल निर्माण गर्न पहल गर्ने घोषणा गर्नुभएको छ ।

श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगितामा सहभागी नेपाली टोलीको बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले लाजिम्पाटमा कभर्ड हल निर्माण गर्ने घोषणा गर्नुभएको हो । नेपाल भलिबल संघले गरेको बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले युवा खेलाडीलाई राष्ट्रिय झण्डाको गौरव बढाएर फर्किन शुभकामना दिनुभयो ।

नेपाली युवा टोलीले श्रीलंकाको कोलम्बोमा कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । प्रतियोगिताका लागि नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालसँगै श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान सहभागी छन् ।

गत वर्ष माल्दिभ्समा भएको काभा यू-२० महिला च्याम्पियनसिपमा कीर्गिस्तानले उपाधि जित्दा नेपाल तेस्रो भएको थियो । यसपटक नेपाली टोलीमा ६ जना नयाँ खेलाडी समावेश छन् भने अघिल्लो वर्ष खेलेका जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङले पनि टोलीमा स्थान बनाएका छन् ।