प्रशिक्षक जगदिश भट्टको राजीनामा पुनर्विचार गर्न भलिबल संघको आग्रह

गण्डकीले छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै बहिष्कारको चेतावनी
आश्विन १०, २०८२ |खेल ब्युरो
प्रशिक्षक जगदिश भट्टको राजीनामा पुनर्विचार गर्न भलिबल संघको आग्रह

काठमाडौं । नेपाल भलिबल संघले प्रशिक्षक जगदिश भट्टलाई चयनकर्ताको जिम्मेवारीबाट पछि हट्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले शुक्रबार विज्ञप्ति जारी गर्दै भट्टको तीन दशक लामो योगदान स्मरण गर्दै तत्काल पुरानै जिम्मेवारीमा फर्किन आग्रह गरेका हुन् । उनले भट्टले आफ्नो प्रशिक्षणकालमा नेपाललाई १३ अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको उल्लेख गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले बुधबार सामाजिक सञ्जालमार्फत राखेपबाहेक भलिबलको कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेका थिए ।

राष्ट्रिय पुरुष टोलीको प्रारम्भिक छनोटलाई लिएर उत्पन्न विवादपछि भट्टले यस्तो घोषणा गरेका हुन् । राष्ट्रिय टिम छनोट सामूहिक निर्णयका आधारमा भएको तथा खेलाडीको कौशल, रणनीति, अनुशासन तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रदर्शनलाई आधार मानेर खेलाडी छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ । 

साथै जात, वर्ग वा क्षेत्रका आधारमा कुनै खेलाडी छनोट हुन नसक्नेसमेत विज्ञप्ति मै भनिएको छ । राष्ट्रिय भलिबल टिम छनोट समितिको संयोजक उपाध्यक्ष भरत शाह तथा सदस्यमा भट्ट र मुख्य प्रशिक्षक भरत यादवलाई जिम्मेवारी दिइएको थियो । तर हाल भट्टले आफू संघको जिम्मेवारीबाट अलग रहेको घोषणा गरिसेका छन् । 

समितिको सिफारिसमा १८ खेलाडीसहित असोज २ गतेदेखि प्रशिक्षण जारी छ । यसैबीच, गण्डकी प्रदेश भलिबल संघले आफ्नो प्रदेशका खेलाडी पर्न नसकेको भन्दै छनोट प्रक्रियामा असन्तुष्टि जनाएको छ । 

संघले यसलाई अन्यायपूर्ण भन्दै तत्काल पुनर्विचार गर्न चेतावनी दिएको छ । माग सम्बोधन नभए नेपाल भलिबल संघको कार्यक्रम र प्रतियोगितामा सहभागी नहुने चेतावनीसमेत गण्डकीले दिएको छ ।