नेपाल र वेस्ट इन्डिजबीचको सिरिज भाेलिदेखि यूएईमा सुरू हुँदै

आश्विन १०, २०८२ |खेल ब्युरो
नेपाल र वेस्ट इन्डिजबीचको सिरिज भाेलिदेखि यूएईमा सुरू हुँदै

काठमाडौं । युनिटी कपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज शनिबारदेखि यूएईमा सुरु हुँदै छ । 

नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्वीपक्षीय सिरिज खेल्न लागेको हो । यसअघि गतवर्षको अप्रिलमा नेपालले वेस्ट इन्डिज 'ए' टिमलाई घरेलु मैदानमा स्वागत गरेको थियो भने २०२३ को जुनमा आईसीसी विश्वकप छनोटमा वेस्टइन्डिज 'ए' सँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिकको संयुक्त छनोटको तयारीका लागि वेस्ट इन्डिजसँगको सिरिज आयोजना गरेको हो । क्यान यस सिरिजको आयोजक भएकाले यसैले नै सबै खर्च व्यवस्थापन गरेको छ ।

दुई पटकको टी-२० आई विश्वकप विजेता क्यारेवियन टोली टी-२० आईमा बलियो मानिए पनि पछिल्लो सयम उसको प्रदर्शनमा गिरावट आएको छ ।

यो सिरिजका लागि वेस्ट इन्डिजले पाँच नयाँ खेलाडी समावेश गरेको छ । क्यारेवियन साइडले कप्तान साइ होप, पेसर अल्जारी जोसेप, ब्याटर जनसन चार्ल्सलाई आराम दिएको छ ।

स्पिनर अकिल हुसेनलाई कप्तानको जिम्मेवारी दिइएको छ । उनलाई फाबियन एलन, जेसन होल्डर र कायल मेयर्सलगायतले साथ दिने छन् । यसैबीच आदिल अन्सारी र सन्दीप जोराले नेपाली टिममा पुनरागमन गरेका छन् । 

शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार साँझ सवा ८ बजे सुरु हुने छ । दोस्रो खेल फूलपाती अर्थात् १३ गते र तेस्रो तथा अन्तिम टी-२० आई महाष्टमीका दिन खेलिने छ ।