काठमाडौं । नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभूवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ ।
प्रधान सेनापति ट्रफी २०८२ को समापनको अवसरमा शुक्रबार आर्मीले क्लबका खेलाडीद्वय उसुका विजयलाई पुरूषमा र करातेकी सानुमायालाई महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो ।
गत वर्ष पाएका सफलताका आधारमा आर्मीले आफ्ना विभागका दुई खेलाडीलाई सम्मान गर्यो । विजयले जापानमा भएको तेस्रो थाउलो विश्वकपमा कास्य पदक जितेका थिए । सानुमायाले भने श्रीलंकामा भएको नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल कातामा रजत पदक जितेका थिए । उनै विजय र सानुमायालाई आफ्नै विभागले शुक्रबार सम्मान गर्यो ।
प्रधान सेनापति ट्रफीको समापन समारोहमा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले विजय र सानुमायालाई अजयबल ट्रफी र २५ हजार नगद पुरस्कारसहित सम्मान गरे ।
गत भदौ १७ देखि सुरू प्रधानसेनापति कपमा कुल १४ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । उक्त ट्रफीमा उपत्यका पृतना प्रथम र श्री नम्बर १६ बाहिनी अड्डा दोस्रो भयो । गणतर्फ पुरानो गण पहिलो र श्री जगदल गण दोस्रो हुन सफल रहे । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वप्रधानसेनापति र बलाध्यक्षलगायतले खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।
सो अवसरमा उत्कृष्ट रेफ्रीलाई पनि सम्मान गरिएको थियो । ट्रफीमा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलल गरी कुल आठ खेलमा प्रतिष्पर्धा भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा उक्त समापन कार्यक्र भएको हो ।