युनिटी कप : नेपाली अनुहारमा खुसी आपेक्षा !

आश्विन १०, २०८२ |सुवास रोकाया
युनिटी कप : नेपाली अनुहारमा खुसी आपेक्षा !

काठमाडौं । जेन-जी विद्रोहपछि भएको तोडफोड र आगजनीबाट ठूलो क्षति भएपछि देशलाई नराम्रोसँग चोट लागेको छ । 

परिवर्तनको पक्षमा उठेका असंख्य सपनाहरू माटोमा मिसिए । राष्ट्र अझै मानसिक रूपमा थकित देखिन्छ । चाडपर्वका बेला पनि जनजीवन शान्त र सामान्य बन्न सकेको छैन । तर, निराशाको धुलोबीच दशैंका बेला क्रिकेटले फेरि एक पटक नेपाली अनुहारमा खुसी र गर्वको मुस्कान भर्ने अपेक्षा गरिएको छ । 

नेपालले इतिहासमै पहिलो पटक दुई पल्टको टी-२० विश्वकपको श्रीपेच लगाएको टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ । युनिटी कप नाम दिइएको यो द्विपक्षीय शृङ्खलाले नेपाल र नेपालीमाथि लागेको चोटलाई केही समय भए पनि बिर्साए एकताको भावनामा बाँध्ने छ र सामूहिक उत्सव मनाउने अवसर दिनेछ ।

पछिल्ला राजनीतिक घटनाक्रमले चाडपर्वका बेला नेपालीमा गहिरो निराशा र नकारात्मक प्रभाव पारे पनि आशाको नयाँ झिल्को भने खेलमैदानबाट उदाउँदै छ । संयुक्त अरब इमिरेट्सको ऐतिहासिक शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । असोज ११ देखि १४ गतेसम्म चल्ने युनिटी कपले नेपालीको मनमा लागेका घाउहरूमा औषधीको काम गर्ने छ ।

वेस्ट इन्डिजको पछिल्लो यात्रा सुखद छैन । उसले खेलेका पाँच टी-२० अन्तर्राष्ट्रियमध्ये चारमा हार व्यहोरेको छ र केबल एक खेल मात्र जितेको छ । तर, २०१२ र २०१६ मा विश्वकप विजेता बनेको गौरवशाली इतिहासले उसलाई अझै पनि खतरनाक प्रतिद्वन्द्वी बनाउँछ । वर्तमान टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने वेस्ट इन्डिज छैटौं स्थानमा छ ।

नेपालले पनि पछिल्ला पाँच खेलमा दुई जित र तीन हारसहित औसत प्रदर्शन गरेको छ । यद्यपि, प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा निरन्तर सुधारको बाटोमा रहेको नेपाली टोली युनिटी कपलाई आफ्ना क्षमताको प्रमाणका रूपमा प्रयोग गर्न चाहन्छ ।

नेपालको सुरूवाती ब्याटिङमा कुशल भुर्तेल र आसिफ शेखले जिम्मेवारी बोक्नेछन् । अनुभवी कुशल भुर्तेलले पछिल्ला १० खेलमा ३ सय ८७ रन जोड्दै आफूलाई आक्रामक र प्रभावशाली ओपनरका रूपमा स्थापित गरिसकेका छन् । 

खेललाई गति दिने जिम्मेवारी उनको काँधमा हुनेछ । अर्कोतर्फ, विकेटकिपर ओपनर आसिफ शेखले स्थिरता र धैर्य ल्याउने क्षमता राख्छन् । उनले पछिल्ला १० खेलमा २ सय ५२ रन बनाएका छन् ।

मध्यक्रममा कप्तान रोहित पौडेल र उप-कप्तान दीपेन्द्रसिंह ऐरीले स्थिरता र सन्तुलन दिनेछन् । उनीहरूसँगै आरिफ शेख, सन्दीप जोरा र लोकेश बम आवश्यक पर्दा ठूलो योगदान दिन तयार छन् । गुल्शन झा, मोहम्मद आदिल आलम र कुशल मल्ल जस्ता बहुमुखी प्रतिभाले ब्याटिङमा आक्रमण र बलिङमा विकल्पको गहिराई थप्ने छन् ।

बलिङ विभाग नेपालको प्रमुख शक्ति हो । सोमपाल कामी, करण केसी, नन्दन यादव फास्ट बलिङ तथा सन्दीप लामिछाने ललित राजवंशी र सहाव आलम यसका मुख्य हतियार हुन् । पछिल्ला १० खेलमा सोमपालले १५ विकेट लिएका छन् भने सन्दीपले १९ विकेटसहित आफ्नो चमत्कारी प्रभाव जमाएका छन् ।

उता, वेस्ट इन्डिज कप्तान अकील हुसेनको नेतृत्वमा पाँच अनक्याप्ड खेलाडीसहित मैदानमा उत्रिँदैछ । नयाँ र पुरानो पुस्ताको संगमले उसको टोलीमा अनुभव र ऊर्जाको सन्तुलन ल्याएको छ ।

इतिहास र अनुभवका हिसाबले वेस्ट इन्डिजलाई प्राथमिकता दिन सकिन्छ । तर, नेपालले आफ्नो जोश, नवीन रणनीति र खेलाडीहरूको प्रदर्शनमार्फत् अप्रत्याशित नतिजा दिने क्षमता राख्छ । 

अझ, अक्टोबर मध्यसम्म मध्यपूर्व यात्रामा रहेको नेपाली टोली विश्वकपको टिकटसहित स्वदेश फर्किए त्यो अर्को ठूलो राष्ट्रिय महोत्सव बन्नेछ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।