बुद्धिचाल खेलाडीहरूको आक्रोश : महासंघ विघटन र पुनः निर्वाचनको माग

आश्विन ५, २०८२ |खेल ब्युरो
बुद्धिचाल खेलाडीहरूको आक्रोश : महासंघ विघटन र पुनः निर्वाचनको माग

काठमाडौं । बुद्धिचाल खेलाडीहरुले अनियमितता, खेलाडी छनोटमा गम्भीर त्रुटि र पारदर्शीता समाप्त भएको भन्दै नेपाल बुद्धिचाल महासंघ विघटन गरी पुन: निर्वाचन गराउन माग गरेका छन्। 

खेलाडीहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले वर्षौंदेखि नजिकका खेलाडीलाई मात्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराएको आरोप लगाएका हुन्।

अहिले नेपाली चेस टिम एसियन अमेच्योर च्याम्पियनसिप खेल्नका लागि रूसमा छ। तर नेपाल च्याम्पियन रूपेश जैसवाललाई भने संघले प्रतियोगितामा लगेको छैन्। संघका अध्यक्ष हेराकाजी महर्जन निकटका खेलाडी राखेर प्रतियोगितामा लगिएको खेलाडीको आरोप छ।

खेलाडीहरूले खेलाडीमाथि दुर्व्यवहार भएको, खेलाडी छनोट कमिटी नबनाएर सचिवालय समितिले मनोमानी रूपमा निर्णय गर्ने गरेको तथा खेलबारे सूचना लुकाइएको भन्दै संघको कार्यशैलीको विरोध गरेका हुन्। 

विश्व बुद्धिचाल संघबाट २० वर्षदेखि प्राप्त भइरहेको बजेटको दुरूपयोग गरेको भन्दै खेलाडीले उक्त रकमको हिसाब माग गरेका छन्। संघको रकममा पदाधिकारीले रजाइँ गरेको आरोपसमेत खेलाडीले लगाएका छन्। 

खेलाडीहरूले अब यस विषयमा राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई पनि ध्यानाकर्षण गराएर समस्या समाधानका लागि आग्रह गर्ने बताएका छन्।