काठमाडौं । सरकारले जेन-जी आन्दोलनमा भएको ज्यादति र क्षतिबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय न्यायिक आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य तोकिएको छ । आयोगलाई ३ महिनाको समय दिइएको छ । जेन-जी आन्दोलनमा भएको क्षति र ज्यादतिका घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद्को अघिल्लो बैठकले गरेको थियो ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको छ भने राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद् भवनसहितका सरकारी संरचना, निजी भवन, उद्योग व्यवसाय तथा सञ्चार प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएका थिए ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरूवा गर्दै मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।