काठमाडौं । 'आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने' शासकहरूको कुशासन र दमनविरूद्ध आवाज उठाउने र देशमा परिवर्तन ल्याउने सपना बोकेर जेन-जी आन्दोलनमा होमिएका थिए ईश्वत अधिकारी ।
देशका लागि केही गर्ने सोच थियो । तर बानेश्वरमा प्रहरीको गोली लागेर सदाका लागि अस्ताए । शहीदहरूको बलिदानीपछि सत्ता परिवर्तन भएको छ । अब ईश्वतको परिवारको अपेक्षा छ-राज्यले शहीदको सपना पूरा गरोस् ।
जेन-जीको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा निस्कने बेला २६ वर्षीय ईश्वत अधिकारीले बुबा ईश्वरसँग सोधे-बाबा कुन लुगा लगाएर आन्दोलनमा जाउँ ? बुबाले उनलाई मनपर्ने कपडा छानिदिनुभयो । बुबा पनि आन्दोलनमा जान तयार हुनुभयो । तर, जेन-जीको आन्दोलन भएकाले बुढो मान्छे जानुहुन्न भन्दै उनले बुबालाई रोके र एक्लै बानेश्वरतिर निस्किए ।
बानेश्वरमा गोली चलेर प्रदर्शनकारीहरू ढल्न थालेको थाहा भएपछि घरपरिवार र साथी-भाइले ईश्वतलाई फर्कन आग्रह गरे । उनले फर्कन लागेको पनि बताएका थिए । तर घर पुगेनन् । पटक-पटकको प्रयासपछि फोन अर्कैले उठायो र भन्यो-तपाईंको मान्छेलाई गोली लागेको छ, ट्रमा सेन्टर आउनुस् । सबैभन्दा पहिला साथी निराजनविक्रम शाही पुग्दा अस्पतालले भनिदियो-नो मोर ईश्वत ।
स्नातकोत्तर पुरा गरेपछि देशमै केही गर्नुपर्छ सोच थियो ईश्वतको । प्रहरी निरीक्षकमा भिडेका थिए । तर, सफल भएनन् । त्यसपछि अमेरिका जाने सपना पनि सफल नभएपछि पछिल्लो समय बेलायत जाने भन्दै तयारी गरेका थिए । तर, उनलाई राजनीतिमा न चासो थियो, न घरपरिवारसँग यसबारे कुनै कुरा नै गर्थे ।
तर, भ्रष्टाचारविरूद्ध जेन-जीले आन्दोलन गर्ने थाहा भएपछि उनले पनि सहभागी हुने निर्णय गरे । साथीहरूले जान रूची नदेखाएपछि आन्दोलनमा नजाने मान्छेले देशलाई माया गर्दैन भन्दै उनी एक्लै निस्किएका थिए ।
अहिले इश्वतका बुबा छोराको काजकिरियामा बसिरहनुभएको छ । आफ्नो सन्तानलाई सधैंका लागि बिदा गर्नुपर्दा बुबा आमाका मनमा कति पीडा भएको होला, अनुमान पनि गर्न सकिँदैन । उनीहरूको अपेक्षा छ, बुढेसकालको सहारा ढल्यो, अब राज्य उनीहरूको सहारा बनोस् ।
संयोग पनि कस्तो ! देश परिवर्तन हुनुपर्छ भने आन्दोलन गरिरहने इनफ इज इनफका अभियन्ता ई. ईश्वतका आफ्ना दाई हुन् । भाइ ईश्वत पनि परिवर्तनका लागि लडे, तर, कहिल्यै नर्फकने गरी बिदा भए ।
अहिलेसम्म देशका लागि लडेर सहिद भएकाहरूको सपना पूरा गर्ने गरी राज्यले काम गरेको छैन । अब आशा गरौं, यो पुस्ताले गरेको आन्दोलनले देशको मुहार फेरोस् र अब फेरि कसैले जीवनको बलिदानी दिनुपर्ने अवस्था नआओस् ।