भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

भाद्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रू दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । 

यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा रू दुई अर्बभन्दा बढीको क्षति आकलन गरिएको छ । 

प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।

महानगरपालिकाका २९ मध्ये २० वटा वडामा क्षति पुगेको छ । वडा नं. २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रूपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।

पौडेलका अनुसार २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन् ।

महानगरपालिकाका गाडी मध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन् । त्यस्तै दुईवटा जेसिवि, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत झलककुमार श्रेष्ठका अनुसार स्टोरमा रहेका के कति सामान जलेका छन् भन्ने बारेमा तथ्याङ्क लिने काम भइरहेको छ । कार्यालयमा प्रयोग हुने फर्निचर, कम्युटर, टेलिभिजन, इन्भर्टर, ब्याट्री, कागजपत्रलगायतका सामग्री जलेर नष्ट भएका छन् । 

उहाँका अनुसार महानगरवासीलाई वितरणका लागि ल्याइएको दुई हजार थान विद्युतीय चुल्हो जलेर र चोरी भएका छन् । यसका अतिरिक्त अन्य सामग्रीहरू समेत चोरी भएका छन् । 

महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर समेत जलाएर पूर्णरुपमा क्षति पुर्‍याएका छन् । यस्तै महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको घर जलाउने र लुटपाट भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले सेवाग्राहीहरुका सिफारिस र अत्यावश्यक काम आजैबाट गर्न लागिएको बताउनुभयो । जे सकिन्छ ती सेवाहरु दिन थालेको उहाँले बताउनुभयो । क्षतिको मूल्याङ्कन गरेर मर्मत थालिने उहाँले बताउनुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.