काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएको दुई दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भनिए पनि जेन-जीहरूसँग कुरा नमिल्दा ढिलाइ भएको हो । उहाँले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन शुक्रबारदेखि नै परामर्श गरिरहनुभएको छ ।
तर जेन-जीबाट मन्त्रिपरिषद्मा सहभागी हुनेको नाम टुंगो लाग्न सकेको छैन । जेन-जीभित्र पनि छुट्टा-छुट्टै समूह रहेकाले नाम चयन गर्न समस्या भएको प्रधानमन्त्री कार्की निकट स्रोतको भनाइ छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनमा सहभागी जेन-जीहरूका छुट्टा-छुट्टै समूहले मन्त्रिपरिषद्मा आफ्नो सहभागिता खोजेका छन् । तर प्रधानमन्त्री कार्कीले सहमतिमै नाम दिन सुझाव दिनुभएको छ ।
उहाँले जेन-जी बाहेकका अन्य पक्षहरूलाई पनि मन्त्रिपरिषद्मा सहभागी गराउने मनस्थिति बनाउनुभएको छ । त्यसका लागि विभिन्न पक्षसँग छलफल भइरहेको र केही दिनभित्रै टुंगोमा पुग्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।