काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो सिजन सातौं स्थानमा सीमित भएको पोखरा एभेन्जर्स यसपटक नयाँ उमंग र रणनीतिसहित मैदानमा उत्रने तयारीमा छ ।
कुशल भुर्तेलको नेतृत्व ११ सदस्यीय स्वदेशी स्क्वाड टिमको मेरूदण्ड बनेको छ । तर पनि विकेटकिपरको अभाव, मध्यक्रममा विकल्पको कमी र अतिरिक्त अलराउन्डरको आवश्यकता स्पष्ट देखिन्छ, जसलाई विदेशी हस्ताक्षरमार्फत समाधान गर्ने लक्ष्य राखिएको छ ।
पोखरा एभेन्जर्सले अघिल्लो सिजनका कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई निरन्तरता दिादा मीनी अक्सनमार्फत दायाँ हाते बलर अभिषेक तिवारी, युवा ब्याटर अर्जुन कुमाल, कृष्ण पौडेल र अलराउन्डर सन्दीप खत्री क्षेत्रीलाई अनुबन्ध गरेको छ ।
यसरी मिनी अक्सनमा जम्मा एघार लाख रूपैयाँ खर्च गर्दा अझै २५ लाख ५० हजार रूपैयाँ पोखराको पर्समा बाँकी छ । टिममा केही बलिया पक्ष देखिन्छन् । ओपनिङमा कुशल, दिनेश खरेल र तृतराज दासले आक्रामक सुरूआत गर्ने अपेक्षा छ ।
ओपनिङमा प्रसस्त विकल्प भए पनि दिनेश र तृतराजबाट कुशलले कस्तो साथ पाउछन् हेर्न रोचक हुने छ । स्वदेशी स्क्वाड हेर्दा अर्जुन र किरणमाथि मध्यक्रम सम्हाल्नु पर्ने जिम्मेवारी छ ।
मिडल ओभरमा बायाँ हातका स्पिनर बिपिन र सागरको जोडीले रन नियन्त्रण गर्नेछन् भने भुर्तेलकै लेग ब्रेकले थप असर पार्न सक्छ । सन्दीप खत्री क्षेत्रीले अलराउन्ड प्रदर्शन गर्न सक्ने भए पनि अनुभवको कमी भने देखिन्छ ।
फास्ट बलिङमा आकाश चन्द र अभिषेक तिवारी प्रमुख नाम भए पनि यो जोडीलाई साथ दिन सक्ने अर्को फास्ट बलर अलराउन्डर भित्र्याउनु जरूरी छ । कृष्ण पौडेलसाग गति भए पनि यो स्तरको अनुभव उनीसाग नरहँदा बेञ्चमा सीमित हुन सक्छन् ।
साथै चौथो नम्बरमा आएर पावर हिटीङ गर्ने विदेशी ब्याट्सम्यान, डेथ ओभरमा प्रभाव पार्ने पेसर, र एक स्पिन अलराउन्डर टिममा थप्दा पोखराको संरचना अझ सशक्त हुनेछ ।
तर यति मात्र पर्याप्त छैन । शुद्ध विकेटकिपरको कमी नै मुख्य चुनौती हो । विदेशी बजारबाट मध्यक्रम र फिनिसिङमा योगदान दिन सक्ने विकेटकिपर-ब्याट्सम्यान ल्याउनु अपरिहार्य देखिन्छ । मध्य क्रममा किरण र अर्जुन चल्न नसके ठूलो लक्ष्य पछ्याउँदा टिमले कठिनाइ भोग्न सक्छ ।
यसरी, अघिल्लो वर्षको अनुभवबाट सिक्दै सोचविचार पूर्वक स्क्वाड तयार गरेको पोखराले यदि उपयुक्त विदेशी खेलाडी भित्र्याउन सफल भयो भने एनपीएल २०२५ को बलियो उपाधि दावेदार बन्ने निश्चित देखिन्छ ।