कास्की । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगमा आइतबार दुई रोमाञ्चक खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई ३-१ सेटमा हराउँदै लिगको पहिलो जित दर्ता गर्यो । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा काठमाडौंले पहिलो सेट २६-२४ ले जितेको थियो ।
दोस्रो सेटमा मधेशले पुनरागमन गर्दै २५-२३ को नतिजा हात पारे पनि काठमाडौंले तेस्रो र चौथो सेट क्रमशः २५-२३ र २५-१९ ले जित्दै तीन अंक जोड्न सफल भयो ।
यसअघि काठमाडौं र मधेश दुवै टोली ललितपुर क्विन्ससँग पराजित भएका थिए । लगातार दोस्रो खेलमा हार ब्यहोरेको मधेशले आफ्नो पहिलो खेलमा पोखरालाई पराजित गरेको थियो ।
यससँगै काठमाडौंले २ खेलमा १ जित र १ हारसहित ३ अंक जोडेको छ । ऊ लिगको तेस्रो स्थानमा छ । ३ खेलमा ३ अंक जोडेको मधेश चौथो स्थानमा छ । यसैबीच दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरा निन्जाजलाई ३-२ ले पछि पार्दै रोमाञ्चक जित हात पार्यो ।
लुम्बिनी यसै सिजनबाट प्रतियोगितामा सहभागि भएको टोली हो । पहिलो सेट २५-१३ ले जिते पनि दोस्रो र तेस्रो सेटमा पोखराले २५-२३ र २५-१० को नतिजासहित सानदार पुनरागमन गरेको थियो ।
तर प्रतिस्पर्धात्मक चौथो सेट लुम्बिनीले २८-२६ ले जित्दै खेललाई पाँचौं सेट सम्म धकेलेको थियो । निर्णायक सेटमा १५-१० ले बाजी मारेपछि लुम्बिनीले प्रतियोगिताको इतिहासकै आफ्नो पहिलो जित सुरक्षित गर्यो ।
५ सेटको जितसँगै लुम्बिनीले २ अंक जोड्दा, खेल पाँच सेटमा धकेलेका कारण पोखराले पनि १ अंक प्राप्त गर्यो । लुम्बिनी अंक तालिकाको पाँचौं स्थानमा रहँदा पोखरा पुछारमा छ । प्रतियोगितामा भोलि पनि दुई खेल हुने छन् ।