
रौतहट । प्रतिनिधि सभा सदस्यको लागि बिहीबार सम्पन्न भएको निर्वाचनमा रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
निर्धारित समय बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना बिना शान्तिपुर्ण रूपले सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। निर्वाचन सुरक्षित र व्यवस्थित बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो।
सुरक्षा निगरानी कडा पारिएकाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयाे । चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा सबै क्षेत्रको मतपेटिकाहरू सम्बन्धित संकलन केन्द्रमा ल्याउने काम भइरहेको र मतगणना गर्ने तयारी समेत भइरहेको निर्वाचन अधिकृत छोटेलाल दासले बताउनुभयाे ।
प्रमुख दासकाअनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा मतगणना हुनेछ भने क्षेत्र नम्बर २ को ब्रम्ह ज्योति मावि लौकाहा, ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने निर्वाचन अधिकृत दासले बताउनुभयाे ।
उहाँका अनुसार बिहीबार रातिदेखि नै मतगणना सुरू गर्ने तयारी भइरहेको छ। मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि रातिबाटै मतगणना प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयाे ।