पानी र मल अभावले धान उत्पादन १७ प्रतिशतले घट्ने, चामल आयात बढ्ने प्रक्षेपण

भाद्र १६, २०८२ |अनिल मिश्र
पानी र मल अभावले धान उत्पादन १७ प्रतिशतले घट्ने, चामल आयात बढ्ने प्रक्षेपण

काठमाडौं । समयमै पर्याप्त पानी नपर्दा यस वर्ष देशभर ९५ प्रतिशत धान रोपाइँ भएको छ । 

सबैभन्दा बढी उपज हुने मधेशमा भने ८६ दशमलव ३५ प्रतिशतमा जेनतेन रोपाइँ भएको छ । साउन अन्तिममा बूढो बीउ रोपे पनि फेरि १५ दिनयता पानी नै नपरेपछि लागतसमेत नउठ्ने चिन्ताले किसानहरू पिरोलिएका छन् । 

मलको आपूर्तिसमेत सहज नभएपछि उत्पादन घट्ने र अर्बौ रूपैयाँको धानचामल आयात बढ्ने निश्चित छ । मधेश प्रदेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टर बर्खे धान खेतीयोग्य जग्गा रहे पनि यस वर्ष ४० हजार ४ सय २० हेक्टरमा रोपाइँ हुन सकेन । 

आधा साउन बितेपछि सामान्य पानी परेपछि किसानले १ लाख ७ हजार ६ सय ३८ हेक्टरमा जेनतेन बूढो बीउ रोपे । कृषि मन्त्रालयका अनुसार साउन १५ देखि ३० गतेसम्म ३० प्रतिशतभन्दा बढि रोपाइा भयो । 

त्यसयता फेरि पानी नपरेपछि ढिलो गरि रोपेको धान फस्टाउन सकेको छैन । खेतमा धाँजा फाट्न थालेको छ भने धानमा रोगको प्रकोप पनि बढ्दै गएको छ ।मधेश प्रदेशका आठै जिल्लामा नहर, कुलो, डिप बोरिङ, स्यालो ट्युवेललगायतबाट ४९ दशमलव ४४ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा छ । 

धानलाई प्रसस्त पानीसँगै मल पनि उत्तिकै चाहिन्छ । तर सिचाइँको समस्या भोग्दै आएका मधेशका किसानले रासायनिक मल पनि पाएको छैन । बर्खे धान खेतीको लागि ८१ हजार ८ सय ८९ मेट्रिकटन युरिया, ३१ हजार ५ सय २३ मेट्रिक टन डिएपी र २३ हजार ९ सय १४ मेट्रिक टन पोटास आवश्यक पर्छ । 

यसमध्ये ३२ हजार ७ सय ३९ मेट्रिक टन युरिया र २८ हजार ८ सय ३८ मेट्रिक टन डीएपी मात्र आपुर्ति भएको छ । गत वर्ष मधेशमा १२ लाख ६२ हजार १ सय ९४ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस वर्ष २ लाख ११ हजार २ सय ४० दशमलव ७४ मेट्रिक टन अर्थात १६ दशमलव ७४ प्रतिशत उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । सिँचाइ अभावमा मधेशमा ३० प्रतिशतभन्दा बढि खेतमा ढिलो गरी बूढो बीउ रोपाइँ भएको, सबै जग्गामा रोपाइँ हुन नसकेको, रोपेको धानमा पनि रोग व्याधी लाग्न थालेको, मलसमेत अभाव भएका कारण उत्पादन घटने निश्चित छ । 

यसले धानचामलको आयात स्वभाविकरूपमा बढाउने छ । गत आर्थिक वर्षमा २० अर्ब ३५ करोडको ५ लाख टन बीउसहित धान र १८ अर्ब ६६ करोडको २ लाख ४१ हजार टन चामल आयात भएको भन्सार विभागको तथ्यांक छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।