काठमाडौं । नेपाल 'ए' क्रिकेट टिमले भारतको गुवाहाटीमा पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ-क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै आगामी भदौ १० देखि १८ गते सम्म आसाम स्टेट टिमविरूद्ध पाँच खेलको टी-२० सिरिज खेल्न लागेको जनाएको हो ।
साथै सिरिजका लागि क्यानले १६ सदस्य टोलीकाे पनि घोषणा गरेको छ । टोलीको कप्तानी विकेटकिपर-ब्याटर अनिल साहले गर्नेछन् । अन्तिम पटक गत गत अप्रिलमा नेपालले आयरल्यान्ड उल्भ्सविरूद्ध घरेलु सिरिज खेल्दा विनोद भण्डारीले टिमको नेतृत्व गरेका थिए ।
यस पटक भने विनोदलाई टिममा सामेल गरिएको छैन । नेपाल 'ए' टोली एक वर्ष भन्दा लामो समय पछि मैदानमा उत्रिन लागेको हो । केही युवा खेलाडीसहित अस्ट्रेलिया भ्रमणमा नरहेका खेलाडीहरूलाई टिममा सामेल गरिएको छ ।
कानुनी झमेला सकिएपछि क्रिकेटमा पुनरागमन गरेका मोहम्मद आदील आलमले पनि टिममा स्थान बनाएका छन् । उनी सन् २०२२ पछि क्यान मातहतको कुनै पनि टिममा पहिलो पटक अटाएका हुन् । काठमाण्डू गोर्खाजका अलराउण्डर आदील यस अघि राष्ट्रिय टोलीको प्रराम्भिक चरणको अभ्यास सत्रमा बोलाइएका थिए ।
यसबोहक टिममा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, शेर मल्ल, युवराज खत्री र सागर ढकालदले स्थान बनाएका छन् ।