ईपीएलमा टोटनहमको लगातार दोस्रो जित हात

भाद्र ७, २०८२ |खेल ब्युरो
ईपीएलमा टोटनहमको लगातार दोस्रो जित हात

काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा टोटनहमले नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा लगातार दोस्रो जित हात पारेको छ । इत्तिहाद स्टेडियममा टोटनहमले घरेलु टोली म्यानचेस्टर सिटीलाई २-० ले स्तब्ध पारेको हो ।

गत नोभेम्बरमा सिटीलाई ४-० ले हराएको टोटनहमले यसपटक पनि दृढ रक्षात्मक खेल प्रदर्शन गर्‍यो । खेलको सुरूवातमा ओमर मर्मुसले केही प्रहार गर्दा सिटीले दबाब सिर्जना गरे पनि टोटनहमका गोलरक्षक गुइलेल्मो भिकारियोले उत्कृष्ट बचाउ गरे ।

३६औं मिनेटमा रिचार्लिसनको क्रसलाई ब्रेनन जोनसनले गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । सुरूवाती निर्णय अफसाइड भए पनि भीएआरले समीक्षा गर्दै गोललाई मान्यता दियो । पहिलो हाफको अतिरिक्त समयमा सीटीका गोल रक्षक जेम्स ट्रार्फडको गल्तीको फाइदा उठाउँदै जोआओ पल्हिन्हाले टोटनहमलाई २-० को बलियो स्थितिमा पुर्‍याए ।

सिटीका एर्लिङ हालाण्डले केही अवसर गुमाउँदा घरेलु टोली खेलमा फर्कन सकेन । दोस्रो हाफमा सिटीले दबाब बनाए पनि टोटनहमको रक्षात्मक संयन्त्र तोड्न असफल रहृयो । 

यो जितसँगै स्पर्सले पहिलो दुई खेलमै क्लिनसिट राख्दै उत्कृष्ट सुरूवात गरेको छ । फ्राङ्कको टोलीले उद्घाटन खेलमा बनर्लीलाई हराइसकेको थियो । टोटनहमको २ खेलबाट ६ अंक छ । समान खेलमा सीटीले ३ अंक जोडेको छ ।

प्रिमियर लिगमा अहिले बर्नमथ र वुल्भ्स तथा बर्नली र सन्डरसाउण्ड्सबीचको खेल जारी छ । साथै अहिलने नै ब्रेन्टफोर्टले एस्टन भिल्लाको सानमा गरिरहेको छ । राति सवा १० बजे आर्सनल र लिड्स युनाइटेड आमने सामने हुने छन् । 

प्रिमियर लिगको २०२५- २६ सिजन कान्तिपुर म्याक्स एचडी र कान्तिपुर मिडिया ग्रुपका विभिन्न डिजिटल प्ल्याटर्फममार्फत प्रत्क्षय प्रशारण भइरहेका छन् ।