काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनी रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राख्नुभएको छ ।
बुधबार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो । उहाँले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने बताउनु भयो ।
उहाँले उच्च पदस्थ व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो ? भन्दै प्रश्न समेत गर्नुभयो । विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उहाँको भनाइ छ ।
नेपालमा भने राजनितिक दलहरूले आफ्नो फाईदाको लागी समाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिष्पर्धा गर्ने गरेको उहाँले बताउनु भयो । उहाँले समाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने बताउनु भयो ।
उहाँले नेपाल सरकारको बजेट र आर्थिक स्थितिले सामाजिक सुरक्षा धान्न मुस्किल पर्ने बताउनु भयो । हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाती, बाल पोषण भत्ता लगायतका शिर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।