मोन्टी देशाईको पुनरागमन: गोर्खाजलाई च्याम्पियन बनाउने लक्ष्य

श्रावण २२, २०८२ |खेल ब्युरो
मोन्टी देशाईको पुनरागमन: गोर्खाजलाई च्याम्पियन बनाउने लक्ष्य

काठमाडौं । दुई वर्ष नेपाली राष्ट्रिय टिमको नेतृत्व गर्दा नेपाली क्रिकेटलाई नयाँ उचाई दिलाएर प्रशंसा पाएका मोन्टी देशाई पुनः काठमाडौं आइपुगेका छन् । 

उनी एनपीएलको दोस्रो सिजनमा काठमाडौं गोर्खाज् सम्हाल्न ९ महिनापछि काठमाडौं आएका हुन् । यस पटक च्याम्पियन बन्ने गोर्खाजको लक्ष्यलाई मोन्टीको कुशल नेतृत्वले साकार गर्ने अपेक्षा गरिएको छ ।

मोन्टी देशाइकै प्रशिक्षणमा नेपाली टोली एक दशकपछि टी-२० आई विश्वकपमा फर्किएको थियो भनेे नेपाल एकदिवसीय मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनोटसम्म पुगेको थियो । 

शुक्रबार एनपीएलको दोस्रो सिजनको मिनी अक्सन हुँदैछ । काठमाडौं गोर्खाज्को अक्सन टेवलमा समेत मोन्टीको उपस्थिति हुँदा उपत्यकामा आधारित टोलीलाई ठूलो रणनीतिक लाभ हुनेछ । आखिर मोन्टीलाई गोर्खाजसँग जोड्न के कुराले प्रेरित गर्‍यो त ?

गोर्खाजका सहायक प्रशिक्षक बसन्त शाहीले पनि राष्ट्रिय टिमको प्रशिक्षण टोलीमा मोन्टीसँग सहकार्य गरेका थिए । यी दुई अनुभवी प्रशिक्षक फेरि एकसाथ टिममा आबद्ध हुँदा गोर्खाजलाई थप सहज हुने निश्चित छ ।

काठमाडौंले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश काडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ । गत सिजन चितवन राइनोज र कर्णाली याक्ससँग नेट रन रेटमा पछि पर्दा गोर्खाजले पाँचौं स्थानमा रहेर लिग समाप्त गर्‍यो । तर यसपटक नयाँ नाम, लोगो, व्यवस्थापन र रणनीतिसहित मैदान उत्रिने तयारीमा रहेको गोर्खाजले च्याम्पियन बन्ने लक्ष्य राखेको छ ।