निर्यातको तथ्यांक सकारात्मक भए पनि अर्थतन्त्र वृद्धिमा सहयोग नपुग्ने

श्रावण १२, २०८२ |सुदिल पोखरेल
निर्यातको तथ्यांक सकारात्मक भए पनि अर्थतन्त्र वृद्धिमा सहयोग नपुग्ने

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा इतिहासकै उच्च मात्रामा निर्यात बढेको दाबी गरेको छ । गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब निर्यात भएको थियो । यसलाई नै सरकारले इतिहासमै उच्च भनेको हो । तर कुल निर्यातको १ खर्ब २१ अर्ब अर्थात् ४२ प्रतिशत त विदेशबाट कच्चा तेल आयात गरी प्रशोधन मात्रै गरेर भारत पठाइएको भटमास तथा सूर्यमुखी तेलले ओगटेको छ । यस्ता वस्तुको निर्यातभन्दा आयात बढी भएकाले रोजगारी सिर्जना गरेको र अर्थतन्त्रमा टेवा पुर्‍याएको भन्दै निर्यात वृद्धिमा खुशी हुन नहुने विज्ञ बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चार दिनअघि आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशत निर्यात बढेर इतिहासमै सबैभन्दा धेरै २ खर्ब ७७ अर्ब पुगेको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभयो । अघिल्लो वर्ष २०८०/८१ मा १ खर्ब ५२ अर्ब मात्रै निर्यात भएकोमा गत वर्ष १ खर्ब २५ अर्ब बढी भएको दाबी गर्नुभएको हो । भन्सार विभागको तथ्यांकका आधारमा हेर्ने हो भने प्रधानमन्त्रीको दाबी सत्य हो । तर, यही तथ्यांकमा खुशी हुनुपर्ने अवस्था भने छैन । 

किनभने यो निर्यात आन्तरिक कच्चा पदार्थमा आधारितभन्दा विदेशबाटै आयात गरी प्रशोधन मात्र गरिएका वस्तुको हिस्सा ठूलो छ । आर्थिक वर्ष २०८०/८१ मा ९० करोडको भटमासको तेल, १६ करोडको सूर्यमुखी तेल र ६ अर्ब ३३ करोडको पाम तेल गरी ७ अर्ब ३९ करोडको निर्यात भएको थियो । जुन गत आर्थिक वर्ष २०८१/८२ मा भटमासको तेल १ खर्ब ६ अर्ब, सूर्यमुखी तेल १२ अर्ब ३२ करोड र पामतेल २ अर्ब ४१ करोडको गरी १ खर्ब २१ को निर्यात भएको छ । यी तीन वटै वस्तुको कच्चा पदार्थ आयात गरी प्रशोधन मात्र गरेर निर्यात गरिएको हो । तेलको निर्यात नै गत वर्षभन्दा १ खर्ब १४ अर्बले बढी देखिएको छ ।

निर्यातको तथ्यांक बढाउने भटमासको तेलको कच्चा पदार्थ आयातमा डिजेलपछि दोस्रो स्थानमा छ । १ खर्ब ८ अर्बको भटमासको कच्चा पदार्थ आयात भएको छ भने सूर्यमुखीको कच्चा तेल २९ अर्बको आयात भएको भन्सार विभागको तथ्यांक छ । यसरी हेर्दा निर्यात गरिएको वस्तुमा भन्दा यसको कच्चा पदार्थको आयात बढी छ । आयातभन्दा निर्यात बढी भएको भए यसले नेपालमा मूल्य अभिवृद्धि गरेको र रोजगारीसँगै अर्थतन्त्रमा टेवा पुर्‍याएको दाबी गर्न सकिने थियो । तर तथ्यांकमा त्यो देखिएको छैन ।

यसो त नेपालकै कच्चा पदार्थ प्रयोग भएका प्लाइउड २ अर्ब ६ करोडको निर्यात भएको छ । जुन गत वर्षभन्दा १ अर्ब ३५ करोडले बढी हो । त्यसैगरी चिया निर्यात पनि २६ प्रतिशतले बढेको छ । समग्रमा हेर्दा स्वदेशी कच्चा पदार्थ प्रयोग गरी वा मूल्य अभिवृद्धि बढी हुने वस्तुको निर्यात ठूलो मात्रामा बढ्न सकेको छैन । जनतामा भ्रम छर्न ठूलो मात्रामा रोजगारी नदिने र मूल्य अभिवृद्धि नगर्ने वस्तुको निर्यात वृद्धिमा भएको सफलताको प्रचार-प्रसारभन्दा स्वदेशी कच्चा पदार्थ प्रयोगसँगै ठूलो मात्रामा रोजगारी दिनसक्ने वस्तुको निर्यात वृद्धिमा सरकारको ध्यान जान जरुरी छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।