काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला खोलिएको तीन सातापछि फेरि विद्यार्थीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागको शुल्क घटाउनुपर्ने मागसहित नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी आन्दोनलमा उत्रिएको हो । अखिल क्रान्तिकारीले शिक्षाध्यक्ष, रेक्टर र सेवा आयोगका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेर आन्दोलन थालेपछि त्रिविमा फेरि समस्या उत्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य र लैंगिक अध्ययन विभागलाई केन्द्रिय विभागमा समायोजन गरेपछि अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । निजी कार्यक्रमको रुपमा सञ्चालित यी चार वटा विभागका शैक्षिक कार्यक्रमलाई त्रिविले केन्द्रीय विभागमा समायोजन गरेको थियो । विश्वविद्यालयले चर्को शुल्क असुलेको आरोप विद्यार्थीहरुको छ । केन्द्रीय विभागमा प्रतिसेमेष्टर बढीमा १७ हजार रुपैयाँसम्म लिइरहेकोमा समायोजन भएका कार्यक्रमका विद्यार्थीसँग भने ६५ हजारसम्म लिइएको छ । अखिल क्रान्तिकारीले शुल्क समायोजन गर्नुपर्ने र त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्ति गर्नुपर्ने माग गर्दै रेक्टर खड्ग केसी, रजिष्ट्रार केदार रिजाल र सेवा आयोगका पदाधिकारीलाई कार्यालय प्रवेश निषेध गरेको छ ।
विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक क्षेत्रमा गम्भीर समस्या उत्पन भएको छ । धर्ना र प्रवेश निषेधले मात्र समस्या हल नहुने भन्दै विश्वविद्यालयले वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।
उच्चशिक्षा अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय पटक-पटक शिक्षक, कर्मचारी र विद्यार्थीको आन्दोलनबाट आक्रान्त छ । त्रिविमा हुने यस्ता गतिविधि अन्त्य गरेर सहज वातावरण नबनाउने हो भने अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश त जाने छ नै विद्यार्थीको भविष्यमाथी पनि खेलबाड ठहरिने छ ।