हुम्ला । हिमालपारिको दुर्गम बस्ती लिमिको तिल गाउँमा सोमबार साँझ पुनः बाढी आएको छ।
नाम्खा गाउँपालिका-६ अन्तर्गत पर्ने तिल गाउँ र हिमशिखर आधारभूत विद्यालयको नजिकबाट बग्ने गाउँको पश्चिम खोलामा बाढी आएको वडा सदस्य तेम्बा तुण्डुप लामाले जानकारी दिनुभएकाे छ ।
बाढीले गाउँ आउने मुख्य काठे पुल बगाउनुका साथै वरपरका बारी, गोठ र पैदल मार्गमा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
यस अघि जेष्ठ १ गते राति सोही गाउँको पूर्वपट्टिको तिल गाउँ र कतिञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा राति ११ बजे हिमताल फूटेर ठूलो बाढी आएको थियो । त्यसयता त्रसित अवस्थामा बसिरहेका स्थानीयहरू सोमबार पुनः आएको बाढीले अझ बढी आतङ्कित भएका छन् ।
'पहिलैदेखि चिन्तित गाउँलेहरूमा फेरि बाढी आएपछि भय र असुरक्षा झनै बढेको छ,' वडा सदस्य लामाले बताउनुभयाे । हालसम्म मानवीय क्षतिको जानकारी प्राप्त नभए पनि बाढीले भौतिक संरचना र खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ।
स्थानीय प्रशासन, विपद् व्यवस्थापन समिति र सुरक्षाकर्मीहरू बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाएको प्रहरीले जनाएको छ ।