किंग्स टी-टेन इन्डोर प्रतियोगिता आयोजना हुने, हालसम्मकै सर्वाधिक सहभागिता

श्रावण ७, २०८२ |खेल ब्युरो
किंग्स टी-टेन इन्डोर प्रतियोगिता आयोजना हुने, हालसम्मकै सर्वाधिक सहभागिता

काठमाडौं । किंग्स क्रिकेट क्लबको आयोजनामा यही श्रावण ९ गते देखि १७ गतेसम्म काठमाडौंको बुढानिलकण्ठमा किंग्स टी- टेन इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोश्रो संस्करणको घोषणा गरिएको हो । रोयल स्पोर्ट्स पार्कमा खेलिने खुला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टिमको सहभागिता रहनेछ । हालसम्म आयोजित इन्डोर प्रतियोगितामा यो सर्वाधिक सहभागिता हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक किंग्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरूट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको बताए ।

यस्तै प्रतियोगिताका टेक्निकल डिरेक्टर रवीन्द्र गुप्ताले लिग र नकआउट चरणमा प्रतियोगिता सञ्चालन हुने बताए । सहभागि ३२ टिमलाई आठ समुहमा विभाजन गरिएको छ र हरेक समुहमा रहेका टिमहरूले एक अर्कासँग १/१ खेल खेल्ने छन् । त्यसपछि प्रत्येक समुहबाट शीर्ष टिम क्वार्टरफाइनल पुग्नेछन्।

प्रतियोगिता आयोजनाको कुल बजेट करिब १० लाख रूपैयाँ रहेको सिजन प्रसाईंले जानकारी गराए । प्रतियोगिताको मूख्य प्रायोजक गार्जीयन माइक्रो लाईफ इन्स्योरेन्स रहेको छ । 

यस्तै ट्राभल पार्टनर प्याङ्गोलिन ट्राभल्स, बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड, एजुकेशन पार्टनर फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी, फुड पार्टनर सेकुवा बाई किलो रहेको छ । यस्तै द पभेलियन स्टोर, हाम्रो खाजा घर, चिया अमृत, नेपाल बैंक लिमिटेडको पनि साथ रहेको छ ।