काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डू गोर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । गत सिजन ’काठमाण्डु गुर्खाज’ नामले प्रतिस्पर्धा गरेको राजधानीमा आधारीत फ्रेन्चलाईजले यस पटक नामसँगै लोगो पनि परिवर्तन गरेको हो ।
नयाँ नाम, लोगो र रणनीतिसहित दोस्रो संस्करणको एनपीएलको तयारीलाई तिब्रता दिएको गोर्खाजले काठमाडौं उपत्यकाको सांस्कृतिक विविधता तथा सम्पदालाई प्रतिबिम्बित गर्न नयाँ लोगो डिजाइन गरेको हो । नयाँ लोगोमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोट क्षेत्रको इतिहास, सांस्कृतिक र सम्पदाको संयोजन रहेको छ ।
गत सिजन चितवन राइनोज र कर्णाली याक्सलाई नेट रन रेटमा पछि पार्न नसक्दा पाँचौं स्थानमा रहेर लिग समाप्त गरेको गोर्खाजले यस पटक भने च्यम्पियन बन्ने लक्ष्य राखेको छ । कप्तान तथा मार्की खेलाडी करण केसीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा उपाधि जित्ने दाबी गरेका छन् ।
गोर्खाजले वर्ल्डलिंकलाई मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरेको छ । भने ग्वार्कोस्थित पाँचतारे होटल रोयल टुलिप गोर्खाज टोलीको हस्पिटालिटी पार्टनरको रूपमा आवद्ध भएको छ । होटलले खेलाडी तथा टिम स्टाफलाई सम्पूर्ण आवासीय सुविधा उपलब्ध गराउनेछ ।
कार्यक्रममा सहभागी नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सुधार कार्य सम्पन्न भए लगत्तै राति खेल सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
मार्की खेलाडी तथा कप्तान करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको टोलीले मिनी अक्सनबाट टोलीलाई थप मजबुत बनाउने योजना बनाएको छ ।
अन्तर्राष्ट्रिय हस्ताक्षरको रूपमा विश्व स्तरीय विदेशी खेलाडीसँग छलफल गरिरहेको टिम व्यवस्थापनले जानकारी दिएको छ । टोलीको प्रशिक्षण जेम्स स्कुल परिसरमा रहेको थन्डर बोल्ट क्रिकेट एकेडेमीमा हुनेछ । फ्लडलाइटसहितको अत्याधुनिक सुविधामा गोर्खाजले अभ्यास गर्ने छन् ।