महिला युरो कप २०२५ : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

श्रावण ८, २०८२ |खेल ब्युरो
महिला युरो कप २०२५ : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । महिला युरो कप २०२५ को उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । स्पेन पहिलो पटक युरोकप फाइनल पुगेको हो । यो फिफा विश्वकप फाइनलको रि म्याच हुनेछ ।

स्पेनले गएराति भएको सेमीफाइनलमा जर्मनीलाई अतिरक्त समयमा १-० गोलले पराजित गरेको हो । स्पेनको जितमा एइटाना बोनमाटी नायक साविक भइन् । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकियो । 

दुवै टिमले प्रयास गरेपनि डेडलक तोड्न सकेनन् । ४१औं मिनेटमा स्पेन गोलको नजिक पुगेको थियो । इरेना परेडेसको हेडर पोस्टमा लागेर फर्कियो । रिवाउन्डमा एस्थर गोन्जालेसको प्रहार सफल हुन सकेन् । 

पहिलो हाफको इन्जुरी समयमा जर्मन गोल किपर आन क्याटरिन बर्गरले सुपर सेभ गरिन् । स्पेनकी एस्थरले लामो पासमा अघि बढाएको बलमा बर्गर बाधक बनेकी हुन् । ६३ औं मिनेटमा जर्मनीले स्पेनको पोस्टमा आक्रमण गर्यो । 

क्लारा ब्युलको प्रहार स्पेनिस गोलकिपर क्लारा कोलले बचाएकी हुन् । इन्जुरी समयमा कोलले दुइ उत्कृष्ट बचाउ गरेपछि जर्मनी अग्रता लिनबाट चुकेको थियो । त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । 

१ सय १३औं मिनेटमा दुई पटककी बलुन दो विजेता बोनमाटीले सानदार गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । बाँकी समयमा जर्मनीले प्रयास गरे पनि असफल हुँदा बोनमाटीको गोल विश्व विजेता स्पेनलाई उपाधि नजिक पुग्न निर्णायक बन्यो । 

स्पेनले २८ वर्षपछि यूरो सेमीफाइनल खेलेको हो । स्पेनको महिला तथा पुरूषको सिनियर टिम, युवा, फुटसल सबै प्रतियोगितामा गरी स्पेनले जित्न बाँकी यहि युरो मात्र हो । यस्तै स्पेनले जर्मनीमाथि जित हात पारेको पनि यो पहिलो पटक हो । 

यसअघि भएका ८ भेटमा पाँच खेल हेर्दा तीन बराबरी भएको थियो । कीर्तिमानी एघारौं पटक सेमीफाइनल खेलेको जर्मनीले हार बेहोरेको यो केवल दोस्रो पटक हो । अब उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच आइतबार प्रतिस्पर्धा हुनेछ । 

इंग्ल्यान्डले सेमीफाइनलमा इटालीलाई अतिरिक्त समयमानै २-१ गोलले पराजित गरेको थियो । विश्वकपमा इंग्ल्यान्डलाइनै हराएर स्पेन च्याम्पियन बनेको हो ।