काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जापानमा हुने २०औं एसियाली खेलकुदका लागि थालिएको 'मिसन-२०२६' योजनाको मुख्य उद्देश्य राष्ट्रलाई खुशी बनाउने रहेको बताएका छन् ।
गत आर्थिक वर्षदेखि सुरु गरिएको विशेष प्रशिक्षणअन्तर्गतका गतिविधिहरूबारे सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित बैठकमा घिसिङले सहभागी खेल संघका पदाधिकारी तथा मुख्य प्रशिक्षकहरूसँग समिक्षात्मक छलफल गरेका थिए । बैठकमा उनले मिसन-२०२६ ले स्वर्णपदकसहित दोहोरो अंकमा पदक जित्ने महत्वाकांक्षी लक्ष्य लिएको जानकारी दिए ।
एसियाली खेलकुद सुरु हुन अब मात्र १३ महिना बाँकी रहेको अवस्थामा समयको भरपूर उपयोग गर्दै प्रशिक्षिण र तयारीका लागि खेल संघहरूले स्पष्ट र ठोस कार्ययोजना सात दिनभित्र बुझाउनुपर्ने उनले बताए ।
सदस्य-सचिव घिसिङले नेपाली खेलाडीको तयारीलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान संघले आ-आफ्नो खेलको अन्तर्राष्ट्रिय महासंघ, अन्य देश तथा दूतावाससँग सहकार्य गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए । उनले मिसनका लागि हाल २ करोड ७० लाख रुपैयाँ मात्रै बजेट भए पनि संघबाट स्पष्ट कार्ययोजना आएमा थप बजेटका लागि गम्भीर पहल गरिने प्रतिबद्धता जनाए ।
नेपाल हाइ परफमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापनाले खेलाडीको शारीरिक क्षमता, प्रदर्शन र दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
बैठकमा राखेपअन्तर्गत राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले प्रशिक्षणलाई थप सशक्त र प्रभावकारी बनाउन सुझाव लिने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिए ।
बैठकमा सहभागी खेल संघका प्रतिनिधि र प्रशिक्षकहरूले खेल सामग्री, प्रतिस्पर्धात्मक प्रतियोगिता, अन्तर्राष्ट्रिय एक्सपोजर, खेलस्थलको सुविधा र विदेशी प्रशिक्षकको व्यवस्थापनलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।