काठमाडौं । ढाकाको बसुन्धरा किंग्स एरिनामा सोमबार नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा हुँदा बंगलादेशलाई उपाधि रक्षा गर्नुपर्ने चुनौती छ ।
पहिलो पटक साफ यु-२० महिला च्याम्पियनसीपको उपाधि जित्न नेपाललाई सोमबारको खेल जित्नैपर्ने दबाब छ । जबकि बंगलादेश बराबरीमै च्याम्पियन बन्न सक्छ । प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपाल लिग चरणमा बेहोरेको हारको जवाफ मैदानमै फर्काउन प्रतिबद्ध देखिन्छ । एक्षिण एसियाको उदियमान र प्रभावशाली टोली बंगलादेशलाई घरेलु समर्थकको साथ रहने छ ।
साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत सोमबारको भिडन्त औपचारिक रूपमा फाइनल नभए पनि त्यसको रोमाञ्चकता, तनाव र महत्व कुनै फाइनलभन्दा कम हुने छैन ।
कारण हो यो खेल जिते नेपाल पहिलो पटक साफ महिला फुटबलको कुनै पनि उमेर समूहमा पहिलो पटक च्याम्पियन बन्ने छ । बंगलादेशलाई उपाधि रक्षा गर्न बराबरी नतिजा पनि पर्याप्त हुनेछ ।
लिग चरणको पहिलो भेटमा अतिरिक्त समयको अन्तिम सेकेन्डमा गोल बेहोरेपछि नेपालले ३-२ को हार बेहोरेको थियो । त्यो हारले नेपाली युवा टोलीलाई केही पीडा दिएको थियो । तर, त्यो खेल बंगलादेशका लागि पनि सजिलो थिएन । प्रतियोगिताभर सहज जित निकालेको टिमले नेपालविरूद्ध पाएको त्यो जीत नै सबैभन्दा कठिन थियो ।
नेपालले प्रतियोगितामा अहिलेसम्म ३० गोल गरिसकेको छ । जुन यो संस्करणको सर्वाधिक हो, जसमा पूणिर्मा राईले १० र मीना देउवाले ७ गोल गरिसकेका छन् । बंगलादेशका लाािग सगोरिका, शान्ति मर्दी र तृष्णा रानीले समान ४-४ गोल गरेका छन् ।
नेपालका लागि सोमबारको खेलमा बराबरीको कुनै अर्थ हुनेछैन । हेड-टु-हेड नतिजा हेर्ने नियम लागू भएकाले नेपालले उपाधिका लागि जित निकाल्नै पर्नेछ । बराबरी भए बंगलादेशले उपाधि पक्का गर्नेछ । उसले यसअघि चार पटक साफको उमेर समूहको महिला च्याम्पियनसीप जितिसकेको छ ।
एसियन कपमा छनोट हुन नसकेपछि नेपालका लागि २०२७ को फिफा महिला विश्वकप खेल्ने बाटोसमेत बन्द भई सकेको छ । अब २०३१ को विश्वकपका लागि केन्द्रीत भएको नेपाली राष्ट्रिय महिला फुटबलको भविष्य भनेको यसै टिमका खेलाडी हुन् ।
त्यसकारण यो टोलीले बंगलादेशविरूद्ध ऐतिहासिक प्रदर्शन गर्नुपर्नेछ । उनीहरूका लागि यो महिला फुटबलको गौरव पुनर्लेखनको अवसर हो ।