गोवाडलाहारा ओपन टेनिसको उपाधि जित्दै उनी यो सिजनको सबैभन्दा कान्छी डब्ल्यूटीए च्याम्पियन बनेकी हुन् । जोभिचले फाइनलमा कोलम्बियाकी एमिलियाना आराङ्गोलाई सोझो सेटमा हराउँदै करिअरको पहिलो डब्ल्यूटीए उपाधि हात पारिन्।
उनले पहिलो सेटमा ६-४ को जित दर्ता गरेकी थिइन् । दोस्रो सेटमा ब्यागल प्रहार गर्नबाट थोरैले मात्रै चुकेकी उनले ६-१ को जित हासिल गरिन्। १७ वर्ष २ सय ८३ दिनको उमेरमा ट्रफी जितेकी जोभिचले यसअघि १७ वर्ष २ सय ९९ दिनको उमेरमा उपाधि जितेकी मिर्रा आन्द्रेभालाई पछाडि पारेकी हुन् ।
उनी सन् २०२५ मा डब्ल्यूटीए प्रतियोगिता जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी हुन् । त्यसैगरी, २०२१ मा कोको गफले पार्मामा जितेपछि जोभिच टुर-स्तरको उपाधि जित्ने सबैभन्दा कान्छी अमेरिकी खेलाडीसमेत बनेकी छन्।
गोवाडलाहारा ओपनमा प्रवेश गर्दा विश्व वरीयतामा ७३ की जोभिच उपाधि जितेपछि करिअरकै उच्चतम ३६औँ स्थानमा उक्लिएकी छिन्। यसअघि उनले वर्षको सुरुआतमा २०६औँ स्थानबाट यात्रा थालेकी थिइन्।
फाइनलमा जोभिचले ११ मध्ये ६ ब्रेक प्वाइन्ट प्रयोग गरिन् भने ९ मध्ये ६ पोइन्ट बचाउँदै ९५ मिनेटमै जित सुनिश्चित गरिन् । चोटसँग जुधिरहेकी आराङ्गोले पहिलो सेटमा प्रतिस्पर्धात्मक देखिए पनि दोस्रो सेटमा कमजोर प्रदर्शन गरिन् ।
यो वर्ष जोभिचले सबै चार ग्रान्ड स्ल्याम खेलेकी थिइन् । उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र यूएस ओपनमा दोस्रो चरणसम्म यात्रा गरिन् भने विम्बल्डनको पहिलो चरणमै बाहिरिएकी थिइन् ।