काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबीचको विवादले सन् २०२६ मा जापानमा हुने एसियन खेलकुदका लागि तेक्वान्दो खेल नै समावेश भएन । ओलम्पिक कमिटीले पठाएको लिस्टमा यो खेल समावेश नभएपछि प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडी सहभागी हुन पाउने छैनन् । यो अवस्थामा पारा तेक्वान्दो टोलीले सबैको ध्यान खिचेको छ । पारा तेक्वान्दो टोलीले मलेसियामा जुलाई २८ देखि हुने १०औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेको छ ।
पारा खेलकुदको एक विधा पारा तेक्वान्दोबाट पलेशा गोवर्द्धनले फ्रान्सको पेरिस ओलम्पिकमा ऐतिहासिक कांस्य जितेर इतिहास नै रचिन् । पलेशाको ऐतिहासिक जितले पारा खेलकुदका बारेमा नेपाली जनताले केही हदसम्म थाहा पाएका थिए । पारा खेलकुदमा एउटा हात नभएका, दुवै हात नभएका, खुट्टा छोटो भएका जस्ता अपांगता भएका खेलाडीबीच फरक-फरक विधामा प्रतिस्पर्धा हुन्छ । सबैभन्दा धेरै चुनौती त यो खेलका प्रशिक्षकले भोग्नुपर्छ । अपांगता भएकाहरूबीच प्रतिस्पर्धा हुने भएकाले खेलाडीलाई लुगा लगाइदिनेदेखि स्याहारसुसार प्रशिक्षकले नै गर्नुपर्छ । जुन काम प्रशिक्षक कविराज नेगीलामाले गर्दै आएका छन् । त्यही कारण खेलाडीले प्रशिक्षकलाई अभिभावक समान मान्ने गरेका छन् ।
ओलम्पिकमा हात पारेको पदकका कारण पारा तेक्वान्दोमाथि चुनौतीसँगै अवसर पनि छ । अहिले एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन खेलाडीले दैनिक दुई सिफ्टमा ६ घण्टा अभ्यास गरिरहेका छन् । अभ्यासमा जुटिरहेका पाँच जना खेलाडीमध्ये फ्रान्स ओलम्पिकमा सहभागी भएका भरतसिंह महता र अमिर ब्लोन अनुभवी हुन् । यस्तै चीनमा अभ्यास गरिरहेकी ओलम्पिक पदक विजेता पलेशा गोवर्धन सिधै मलेसिया आएर टिममा सहभागी हुनेछिन् । यो प्रतियोगितालाई खेलाडीले मिसन २०२६ को एसियाड र २०२८ को लस एन्जलसमा हुने ओलम्पिकको तयारीका रूपमा लिएका छन् ।
पारा एसियन च्याम्पियनसिप जी-फोर प्रतियोगिता हो । यो एसियाड जस्तै हो । यो प्रतियोगितामा उत्कृष्ट खेलाडीको सहभागिता रहने भएकाले आगामी एसियाडका लागि यो प्रतियोगिताबाट खेलाडीले राम्रो एक्सपोजर पाउने मात्र होइन, एसियाड र ओलम्पिकको वरीयता समेत निर्धारण हुनेछ ।
पारा खेलकुदले ठूला प्रतियोगितामा पदक ल्याउन सक्छ भन्ने प्रमाणित यसअघि नै पलेशा गोवर्द्धनले गरिसकेकी छन् । यद्यपि अन्य खेलमा जस्तो पारा खेलकुदमा खेलाडी निस्कन सकेका छैनन् । पारा खेललाई विद्यालय तहदेखि नै विकास गर्न सके नेपालले थप उपलब्धि हासिल गर्न सक्छ । त्यसैले यसतर्फ सरोकारवाला निकार्यको ध्यान पुग्न जरुरी छ ।