
काठमाडौँ । एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लव च्याम्पियनसिप हुनेछन् ।
प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान अनिताले तयारी पूरा भएको र उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । कप्तान तथा प्रशिक्षकहरूको पत्रकार सम्मेलनमा अनिताले उत्साहका साथ आफूहरु पहिलो साफ वुमेन्स क्लब च्याम्पियनससिप खेल्न उत्साहित रहेको बताउनु भयो ।
टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि राम्रो नतिजा ल्याउने विश्वास उहाँको छ । दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले शुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोर्टस एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराँची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दैछन् ।
यो च्याम्पियनसिपले दक्षिण एशियाली फुटबलमा नयाँ अध्याय थपिँदैछ । अनिताले यो प्रतियोगितालाई लिएर उत्साहित भएको पनि बताउनुभयो । “नेपालमै पहिलोपटक साफ क्लब च्याम्पियनसिप हुँदैछ, हामी एकदमै उत्साहित छौं । राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट राम्रोसँग ट्रेनिङ गर्न पाएनौं । तर हामी पूर्ण रूपमा तयार छौं । सबै एकजुट भएर खेले हामी राम्रो नतिजा मात्र होइन, उपाधि नै जित्न सक्छौं,’उहाँले बताउनुभयो ।
एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक पाण्डेले टिम ट्रेनिङ राम्रोसँग गर्न नपाए पनि आफ्नो टोलीले सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । टिममा उपलव्ध खेलाडीहरूको सही सदुपयोग गर्ने उहाँको भनाई छ । ‘हामीसँग जुन खेलाडी छन् । तिनैबाट उपाधि जित्छौं । गत वर्ष पनि यही टोलीले घरेलु लिगको उपाधि जितेको हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको झण्डा फहराउने सुनौलो अवसर पाएका छौं र मानसिक रूपमा पनि हामी पूर्ण तयार छौँ,’उहाँले भन्नुभयो ।