साफ यू-२० महिला च्याम्पियनसीप: नेपालले आज भुटानको सामना गर्दै

श्रावण ३, २०८२ |खेल ब्युरो
साफ यू-२० महिला च्याम्पियनसीप: नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसीपअन्तर्गत नेपालले शनिबार आफ्नो पाँचौँ खेलमा भुटानको सामना गर्नेछ । बसुन्धरा स्पोट्र्स कम्प्लेक्समा खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ ।

डबल राउण्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा यी दुई टोलीबीचको यो दोस्रो भेट हो । पहिलो चरणमा नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले हराएको थियो । त्यसपछि दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३-२ को हार बेहोरेको नेपालले श्रीलंकासँग लगातार दुई खेलमा ७-० को समान नतिजा निकाल्दै सानदार पुनरागमन गरेको थियो ।

भुटानले अहिलेसम्म प्रतियोगितामा एक मात्र जित श्रीलंकाविरूद्ध हात पारेको छ । उसले नेपालसँग पहिलो खेलमा हार व्यहोरेको थियो भने बंगलादेशसँग दुई खेल गुमाएको छ ।

जारी प्रतियोगितमा नेपालका लागी पुर्णीमा राईले ७ गोल गरिसकेकी छन् । उनी प्रतियोगिताकै शीर्ष गोल स्कोरर हुन् । मिना देउवाले ४ गोल गर्दा नेपालका लागि ४ खेलाडीले २ गोल र २ खेलाडीले समान १-१ गोल गरेका छन् । भुटानका लागी साङ्गे वाङ्मोले दुई गोल गरेकी छन् ।

अंक तालिकामा बंगलादेश ४ खेलबाट शतप्रतिशत जितसहित १२ अंकमा शीर्ष स्थानमा छ । नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ भने ३ अंक जोडेको भुटान तेस्रो स्थानमा छ । 

श्रीलंका अंकविहीन रहँदै पुछारमा छ । नेपाललाई प्रतियोगिताको च्याम्पियन बन्न भुटानलाई हराउनै पर्ने दबाब छ । त्यसपछि नेपालले घरेलु टोली बंगलादेशलाई हराउँदै गोल अन्तरमा पछि पार्नु पर्ने छ । भुटानको उपाधि जित्ने सम्भावना भने समाप्त भइसकेको छ । नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ ।