काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका २० खेलाडीले भारतमा प्रशिक्षण गर्ने भएका छन् ।
नेपाली टोलीले भारतीय दूतावासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसीआईको सहयोगमा बैंगलुरूमा रहेको नेस्नल क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न लागेको हो ।
नेपाल क्रिकेट संघ क्यानले बिहिबार विज्ञप्ति जारी गर्दै प्रारम्भिक टोलीका ३२ मध्य २० खेलाडी प्रशिक्षणमा सहभागी हुने जनाएको हो । टोलीका अन्य १२ सदस्यले भने नेपालमै प्रशिक्षण गर्ने छन् । प्रशिक्षण जुलाई २१ देखि अगस्ट ३ सम्म हुनेछ ।
प्रशिक्षणका लागि भारत जाने खेलाडीमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल साह र भीम सार्की रहेका छन् ।
यस्तै आरिफ शेख, कुशल मल्ल, रूपेश सिंह, विवेक यादव, रिजन ढकाल र प्रतिस जिसीले पनि एनसीएमा प्रशिक्षण गर्ने छन् । यसबाहेक नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोर, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकारलाई पनि २० जनाभित्र समावेश गरिएको छ ।
भारतमा हुने प्रशिक्षण सकेर नेपाली टोली अस्ट्रेलिया भ्रमणमा जानेछ । त्यसपछि यूएईमा वेस्ट इण्डिजसँग ३ खेलको टि-ट्वेन्टी आई सिरिज खेल्ने छ भने अक्टोबरमा ओमानमा हुने विश्वकपको एसिया छनोट खेल्ने छ ।