काठमाडौं । साफ अन्डर-२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले आइतबार आफ्नो दोस्रो खेलमा आयोजक बंगलादेशको सामना गर्दैछ ।
ढाकास्थित बसुन्धरा किङ्स एरिनामा खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरू हुनेछ । डबल राउन्ड रोबिनको आधारमा खेलिरहेको प्रयोगितामा दुबै टोली उपाधिका दावेदार हुँदा यो भिडन्तलाई फाइनल सरह मानिएको छ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्ने टोली च्याम्पियन बन्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले हराउँदै उत्कृष्ट सुरूआत गरेको थियो भने घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९-१ को फराकिलो जित निकालेको थियो ।
भुटानविरूद्ध नेपाली टोलीको आक्रमण पंक्तिमा पूर्णिमा राई र सेनु परियारको प्रदर्शन उल्लेखनीय थियो । पूणिर्माले चार गोल गर्दा सेनुले दुई गोल गर्दै जित दिलाएकी थिइन्। तर, बंगलादेशकी स्ट्राइकर सागो-रीका नेपाली डिफेन्सका लागि चुनौती बन्न सक्छ । उनले पहिलो खेलमै हृयाटि्रक गरेकी थिइन् ।
भुटानविरूद्ध जितका बाबजुद नेपाली डिफेन्समा कमजोरी देखिएको थियो । जुन गल्ती बंगलादेशविरूद्ध दोहोरिए उपाधि यात्रामा बाधक बन्न सक्छ । प्रशिक्षक यमप्रसाद गुरूङले मैदानको अवस्था चुनौतीपूर्ण भए पनि टोलीको समग्र प्रदर्शन सकारात्मक रहेको बताएका छन् ।
बंगलादेशको टोलीमा सिनियर टिमका खेलाडी समेत समावेश छन् । जुन नेपालका लागि थप चुनौतीपूर्ण पक्ष हो ।