रसुवा बाढी : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रसुवा बाढी : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।

सरकारले आईतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आईतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताउनु भयो । 

प्राधिकरणका अनुसार रसुवा बाढीमा बेपत्तामध्ये अहिलेसम्म पनि १७ जना बेपत्ता छन् । उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको पनि भट्टले बताउनुभयो । यस्तै ७ सय ४९ जनाको स्थल उद्धार तथा २ सय जनाको हवाई उद्धार गरिएको तथा २३ वटा कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको उहाँले जानकारी दिनुभयो । यस्तै २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको उल्लेख गर्दै  भट्टले स्याफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको जानकारी दिनुभयो  । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको उहाँले बताउनुभयो । 

हिमताल फुटेकै कारण रसुवामा बाढी आएको भन्ने निष्कर्षनजिक सरकार पुगेको पनि प्राधिकरणले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.