काठमाडौं । विम्बलडन २०२५ पुरूष एकलको उपाधिका लागी आइतबार इटलीका यानिक सिन्नर र स्पेनका कार्लोस अल्काराज प्रतिस्पर्धा गर्दै छन् ।
लनडनस्थित अल इंग्ल्यान्ड टेनिस क्लबको सेन्टर कोर्टमा खेल राति पौने ९ बजे सुरू हुने छ । विश्व वरीयताको पहिलो र दोस्रो स्थानमा रहेका यी दुई युवा स्टारबीचको भिडन्त वर्तमान टेनिसको सबैभन्दा रोमाञ्चक द्वन्द्वमा परिणत भइसकेको छ ।
पछिल्ला दुई सिजन ग्रान्ड स्लाममाथि सिन्नर र अल्काराजको नै पकड छ । पछिल्ला ६ मेजरमध्ये यी दुई जनाले तीन-तीन उपाधि बााडेका छन् । यो जोडी फ्रेन्च ओपन २०२५ को अविस्मरणीय फाइनलमा पनि एक आर्काविरूद्ध मैदान उत्रिएका थिए । जहाँ अल्काराजले दुई सेट हारेर पनि ऐतिहासिक पुनरागमन गर्दै जित निकालेका थिए ।
२३ वर्षीय सिन्नरले वर्षको सुरूआतमा डोपिङ प्रकरणका कारण तीन महिनाको प्रतिबन्ध झेलेका थिए । तर त्यसपछिको प्रदर्शनले उनले फेरी आफूलाई प्रमाणित गरिरहेका छन् । अर्कोतर्फ, २२ वर्षीय अल्काराज उच्च आत्मविश्वाससहित उपाधि रक्षा गर्ने लक्ष्यमा छन् ।
सिन्नरको संयमित स्वभाव र अल्काराजको ऊर्जाशील शैलीले यो प्रतिस्पर्धालाई थप रामाञ्चक बनाउने छ । एटीपीमा पछिल्ला दुई वर्ष सिनरले ९८ खेल जितेका छन् भने अल्काराजले १०२ खेल जितेका छन् । तर हेड-टु-हेडमा भने अल्काराजको दबदबा छ ।
उनी पछिल्ला पाँच खेलमा लगातार विजयी छन् र कुल १२ मध्ये ८ पटक सिन्नरलाई हराएका छन् । विम्बलडन २०२५ को प्रि-म्याच एनालाइसीससहित कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।