नेपाली महिला टोलीको प्रदर्शनप्रति एन्फा सन्तुष्ट, संरचना निर्माणमा ध्यान दिन कप्तान भण्डारीको सुझाव

असार २३, २०८२ |विनयज्योति सापकोटा
नेपाली महिला टोलीको प्रदर्शनप्रति एन्फा सन्तुष्ट, संरचना निर्माणमा ध्यान दिन कप्तान भण्डारीको सुझाव

काठमाडौं । एएफसी एसियन कप छनोट खेलेर नेपाली टिम आज स्वदेश फर्किएको छ । छनोटका तीन खेलमध्ये लाओस र श्रीलंकालाई हराएको नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टीमा हार बेहोर्नुपरेको थियो । नेपाल फर्किने क्रममा कप्तान सावित्रा भण्डारीले एन्फाले महिला फुटबलको संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन् ।

नेपाली महिला फुटबल टिम एसियन कप छनोट खेलेर सोमबार स्वदेश फर्कियो । तर, खेलाडीको मुहारमा खुशी भने थिएन । कारण नेपाल एसियन कपमा छनोट हुन सकेन । यो छनोटको नतिजा केबल तीन खेलको नतिजा मात्रै थिएन, नेपालले विगत चार वर्षमा गरेको महिला फुटबलको लगानीको प्रतिफल थियो । तर, एन्फाले भने खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिकृया दिएको छ ।

नेपाली टिमकी कप्तान सावित्रा भण्डारीले एन्फाले ग्रासरूटदेखि संरचना बनाएर महिला लिग आयोजना गर्नुपर्नेमा जोड दिइन् । महिलाको प्रदर्शन देखेर गोल्डकप आयोजना सुरु भएकोमा अब देशमा ६ देखि ८ महिनाको लिग हुन सके अर्को एसियन कप खेल्न सहज हुने उनको भनाइ छ ।

नेपालले एक वर्षका लागि नियुक्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डको विषयमा पनि एन्फाले समीक्षा गर्ने बताएको छ । यो प्रतियोगितापछि नेपालको दीर्घकालीन कप्तान को हुन् भन्ने अन्योल पनि देखिएको छ । त्यसलाई चाँडै समाधान गरिने एन्फाको भनाइ छ ।

अहिले नेपाली टिमको कुनै अल्पकालीन योजना छैनन् । तर, दीर्घकालीन रूपमा अब नेपालको सबै ध्यान सन् २०३० को एसियन कप र २०३१ को महिला फिफा विश्वकपमा हुनु पर्नेछ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।