काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को छनोटअन्तर्गत समूह एफ को अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । यो खेलका लागि नेपाली टिममा एक परिवर्तन भएको छ ।
मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रिती राईको स्थानमा पूजा रानालाई अवसर दिएका छन् । बाँकी खेलाडी अघिल्लो खेलकै छन् ।
यो खेलको विजेताले अस्ट्रेलियामा सन् २०२६ मा हुने एसियन कपमा स्थान बनाउने छ भने पराजित हुने टोली बाहिरिनेछ । त्यस कारण दुई टोलीका लागि यो निर्णायक भिडन्त हो । दुवै टोलीले अहिलेसम्म २ खेलमा समान ६ अंक जोड्दा १७-१७ गोल गरेका छन् र दुवै खेलमा क्लिनसिटसहित उत्कृष्ट प्रदर्शन गरेका छन् । जसले गर्दा अन्तिम खेल फाइनल सरह बनेको छ । यदि खेल बराबरी भएमा एएफसीको नियमअनुसार सिधा पेनाल्टी सुटआउट हुनेछ ।
नेपालका लागि कप्तान सावित्रा भण्डारीले दुई खेलमा २ ह्याट्रिकसहित ७ गोल गरिसकेकी छन् । प्रशिक्षक वाइल्डको नयाँ रणनीतिअन्तर्गत टोलीले फरक शैलीमा खेलेको छ ।
उज्बेकिस्तानविरुद्ध नेपालको विगतको प्रदर्शन भने कमजोर रहेको छ । दुई टोलीबीच खेलिएका ३ वटै खेलमा नेपाल पराजित भएको छ । तर अहिलेको आत्मविश्वास, खेलाडीहरूको लय र रणनीतिक स्पष्टताले नेपाललाई जितको दाबेदार बनाएको छ । नेपाली टोली पाँच पटक एसियन कप खेलेको उज्बेकिस्तानलाई पराजित गर्दै २६ वर्षपछि प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । उज्बेकिस्तानको तास्केन्तमा यो खेल अब केही बेरमा सुरु हुनेछ ।