डेनिस खेलाडी होल्ग रून टोरन्टो ओपन टेनिसको तेस्रो चरणमा प्रवेश, जोभानी पेट्सी सोझो सेटमा पराजित

कास्पर रुडलाई पनि सफलता
श्रावण १४, २०८२ |खेल ब्युरो
डेनिस खेलाडी होल्ग रून टोरन्टो ओपन टेनिसको तेस्रो चरणमा प्रवेश, जोभानी पेट्सी सोझो सेटमा पराजित

काठमाडौं । डेनमार्कका होल्ग रून, फ्रेन्च खेलाडी जोभानी पेट्सी पेरिकोलाई सोझो सेटमा पराजित गर्दै टरन्टो ओपन टेनिसको तेस्रो चरण प्रवेश गरेका छन् ।

रूनले ढाडको समस्याका कारण गत साता भएको वासिङ्टन ओपनको पहिलो चरणबाटै आफ्नो नाम फिर्ता लिएका थिए । त्यसपछि आन्द्रे अगासीसँग तीन दिन वासिङ्टनमा विताएका पूर्वनम्बर चारले टरन्टोमा उत्कृष्ट पुनरागमन गरेका हुन् । 

२२ वर्षीय रून र जोभानी पेट्सीबीचको पहिलो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो । तर रूनले ७-६ ले आफ्नो पक्षमा पारे । दोस्रो सेट अली सहज रूपमा ६-३ ले जितेपछि रूनले तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । यो खेल ७६ मिनेट चलेको थियो । 

रूनको गत मार्चमा इन्डियन वेल्सको फाइनलमा पुगे यता हार्ड कोर्टमा प्राप्त यो पहिलो जित हो । पाँचौं वरियताका रूनले जोभानीबाट कुनै पनि ब्रेक पोइन्टको सामना गर्नु परेन । यस्तै कास्पर रूड पनि तेस्रो चरण पुगेका छन् । 

केहीबेर अघि सम्पन्न खेलमा रूडले, रूसका रोमन साफिउलिनमाथि सोझो सेटको जित हात पारेका हुन् । रूडले पहिलो सेटमा रोमनलाई ६-३ ले पराजित गरेका थिए । दोस्रो सेटमा पनि ६-३ कै जीत हात पारे । 

यस्तै अर्को खेलमा इटालियन लोरेन्जो मुसेटीले अस्ट्रेलियाका जेम्स डकवर्थलाई ७-५, ६-१ को सेटमा हराए । योसँगै मुसेटीले तीन खेलदेखिको आफ्नो जीतविहीन यात्रामा पूर्णविराम लगाएका छन् ।