अनास्तासिया पाव्ल्युचेन्कोभा नौ वर्षपछि विम्बल्डनको अन्तिम १६ मा प्रवेश

असार २१, २०८२ |खेल ब्युरो
अनास्तासिया पाव्ल्युचेन्कोभा नौ वर्षपछि विम्बल्डनको अन्तिम १६ मा प्रवेश

काठमाडौं । अनास्तासिया पाव्ल्युचेन्कोभा नौ वर्षपछि विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेकी छन् । अल इंग्ल्यान्ड टेनिस क्लबलको कोर्ट नम्बर २ मा सम्पन्न खेलमा रूसी खेलाडी अनास्तासियाले पूर्वविश्व नम्बर एक जापानी खेलाडी नाओमी ओसाकालाई ३ सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाएकी हुन् ।

पहिलो सेट गुमाएको अवस्थाबाट अनास्तासियाले पुनरागमन जित हात पारेकी हुन् । दुई घण्टा तीन मिनेटसम्म चलेको खेलमा उनले ओसाकाविरूद्ध ३-६, ६-४ र ६-४ नतिजा हात पारिन् ।

ओसाकाले खेलमा १५ ओटा एस प्रहार गरेकी थिइन् । दोस्रो र तेस्रो सेटमा ०-३ ले पछि परे पनि ४-४ को अवस्थामा पुगेकी ओसाका निर्णायक क्षणमा संयमित हुन नसक्दा प्रतियोगिताबाट बाहिरिइन् ।

३४ वर्षीया अनास्तासियाको यो विम्बल्डनको मुख्य ड्रमा १६औं उपस्थिति थियो । अन्तिम पटक सन् २०१६ मा क्वार्टरफाइनलसम्म पुगेकी उनले यसपटक सानदार प्रदर्शन गर्दै पुरानो लयमा फर्काएकी हुन् ।

गत हप्ता ईस्ट-बोर्न ओपनमा करिअरको पहिलो ग्रासकोर्ट सेमिफाइनलमा पुगेकी अनास्तासिया सिजनको सुरुवातमा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन् ।

विम्बल्डन २०२५ को प्रिम्याच एनालाइसीससहित कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।