खाम मगर जातिहरूको मुख्य पर्व भुमे आज

रूकुम पूर्वसँगै रोल्पा, प्यूठान र दाङमा लुम्बिनी प्रदेश सरकारद्वारा सार्वजनिक विदा
असार १, २०८२ |महेश केसी
खाम मगर जातिहरूको मुख्य पर्व भुमे आज

रुकुम । खाम मगर जातिहरूको मुख्य पर्व भुमे आज रूकुम पूर्वमा भव्यताका साथ मनाईदैं छ। बिशेषगरी मगरहरूको बाहुल्यता भएको भुमे र पुथाउत्तरगंगा गाउँपालिकाबासीहरूले बलपुजा गरेर यो चाड मनाउन लागेका हुन् ।

यहाँको रिती परम्परा अनुसार पुथाउत्तरगंगा गाउँपालिकाको माथिल्लो भेग हुकाम-मैकोट र आसपा)मा चैत मसान्तमा नोगोबाङ्गे फुकाएर बैशाखमा बलपुजा गरेर मनाईसकिएको पालिका अध्यक्ष पुणिराज घर्तीले बताउनुभयो । 'पालिकाको तल्लो भेग तकसेरा र आसपसमा जेठ मसान्तमा नोगोबाङ्गे फुकाएर लेकबाट बुकी टिपेर आज गाउँमा झरेर बलपुजा गर्ने चलन छ ।' उहाँले भन्नुभयो 'आज देखी ५ गतेसम्म भुमे नाच नाचेर यो चाड मनाउँदैछौं ।'

यसैगरी भुमे गाउँपालिकामा पनि यो चाडलाई आज भव्यताका साथ मनादैछ । वैशाखे पुर्णिमामा नोगोबाङ्गे फुकाएर सुरू भएको भुमे कतै हिजो र बाँकी ठाउँमा आज भुमे पुजा गरेर भव्यताका साथ मनाउने पालिका अध्यक्ष होमप्रसाद श्रेष्ठले बताउनुभयो । 'बिशेषगरी आज लुगुममा भुमे पुजा हुन्छ । अनि यही महिनाको ३, ५ अथवा ७ गतेसम्म भुमे नाचेर यसको समापन गर्ने गरिन्छ ।'

भुमे पुजाको अवसरमा सम्बन्धित समुदायका लागि आज रूकुम पूर्व संगै रोल्पा, प्यूठान र दाङमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।