चोकर्सबाट च्याम्पियन, तोडियो २७ वर्षको उपाधि खडेरी

जेष्ठ ३१, २०८२ |खेल ब्युरो
चोकर्सबाट च्याम्पियन, तोडियो २७ वर्षको उपाधि खडेरी

काठमाडौं । वर्ल्ड टेस्ट च्याम्पियनशिपको उपाधि दक्षिण अफ्रिकाले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो । 

ऐइडन माक्रम र कप्तान टेम्बा बाभुमाले इनिङ्स सम्हालेपछि दक्षिण अफ्रिकाले २७ वर्षदेखिको उपाधि खडेरी तोडेको हो ।

लन्डनस्थित लर्डसमा अस्ट्रेलियाले २८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्याट कमिन्सको टिमले पहिलो इनिङ्समा २१२ र दोस्रोमा २०७ रन बनाएको थियो । दक्षिण अफ्रिका पहिलो इनिङ्समा १३८ रनमा अलआउट हुँदा माक्रम शून्यमा पभेलियन फर्किएका थिए । पहिलो इनिङ्समा लिएको ७४ रनको अग्रताका आधारमा अस्ट्रेलियाले २८२ रनको लक्ष्य दिएको हो । जसलाई दक्षिण अफ्रिकाले चौथो दिन आज ५ विकेटको क्षतिमा पूरा गर्‍यो । 

प्रोटियसले ७२ रनमा दुई विकेट गुमाएको थियो । रायन रिकल्टन ६ र वियान मड्लर २७ रनमा आउट भएका थिए । तर तेस्रो विकेटका लागि माक्रम र बाभुमाले १४७ रनको महत्त्वपूर्ण साझेदारी गरे । दक्षिण अफ्रिकालाई जितका लागि ६९ रन आवश्यक रहेको अवस्थाबाट आजको खेल सुरु गरेको थियो । अस्ट्रेलियालाई जितका लागि आठ विकेट लिनुपर्ने थियो । 

ह्यामस्ट्रिङका बाबजुद बाभुमाले ६६ रनको पारी खेले । उनी कमिन्सको बलमा आउट हुँदै मैदान बाहिरिएका थिए । ट्रिस्टन स्टब्स ८ रनमा मिचेल स्टार्कको बलमा बोल्ड भएका थिए । माक्रमले १३६ रनको शानदार पारी खेलेपछि दक्षिण अफ्रिकाले आफूमाथि लाग्दै आएको ‘चोकर्स’को उपनाम हटाउन सफल भएको हो । 

माक्रम जितका लागि ६ रन चाहिने हुँदा जस हेजलउडको बलमा क्याच हुन पुगेका थिए । उनको टेस्टमा यो आठौं शतक हो । 

आईसीसी प्रतियोगिताको फाइनलमा शतक बनाउने माक्रम पहिलो दक्षिण अफ्रिकी खेलाडी पनि हुन् । उनको क्याच ट्राभिस हेडले लिएका हुन् । 

केइल वेरेनले स्टार्कको बलमा विजयी रन प्रहार गरेका थिए । लर्डसमा दक्षिण अफ्रिकाले टेस्टमा संयुक्त रूपमा दोस्रो उच्च रन चेज गरेको हो । 

दक्षिण अफ्रिकाले यसअघि सन् १९९८ मा आईसीसी प्रतियोगिताको उपाधि जितेको थियो । दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियनशिपको पहिलो फाइनलमा नै च्याम्पियन बनेको हो । प्रतियोगिताको पहिलो संस्करण न्युजिल्यान्ड र दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो ।