काठमाडौं । फिफा क्लब विश्वकपका लागि विश्वभरिका क्लबहरू अमेरिका पुग्ने क्रम जारी छ। एफसीको प्रतिनिधित्व गर्दै साउदी अरबको चर्चित क्लब अल-हिलाल पनि क्लब विश्वकप खेल्न शुक्रबार अमेरिका प्रस्थान गरेको छ। स्पेनिस जायन्ट रियल मड्रिडसँगै समूह 'एच'मा रहेको यो क्लब गएराति अमेरिका प्रस्थान गरेको हो।
अल-हिलालले यस पटकको नयाँ संरचनामा क्लब विश्वकपमा ठूलो अपेक्षा बोकेको छ। क्लबले हालै पूर्वइन्टर मिलान प्रशिक्षक सिमोने इन्जागीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
रियादको क्लबले साउदी राष्ट्रिय टोलीका कप्तान सालेम अल-दोसारीसँगै र"बेन नेभेस, जोआओ कान्सेलो, आलेक्सान्दार मिट्रोभिच र सर्ज मिलिन्कोविक-साभिचजस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूलाई अनुबन्ध गरेको छ।
पछिल्लो पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएपछि जोर्ज जिससले क्लबको जिम्मेवारी गुमाएका थिए। अब नयाँ प्रशिक्षक इन्जागीको नेतृत्वमा अल-हिलालले क्लब विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
यस प्रतियोगितामा अल-हिलालले युरोपियन च्याम्पियन रियल मड्रिड, मेक्सिकन क्लब पाचुका र अष्ट्रियाको रेड बुल साल्जबर्गसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। पाचुका र रियल मड्रिड यसअघि नै अमेरिका पुगिसकेका छन्।
यता, अर्जेन्टिनाको लामो लिगेसी भएको क्लब बोका जुनियर्सका आयरटन कोस्टाले क्लब विश्वकप गुमाउने सम्भावनाका बीच खेल्न पाउने भएका छन्। उनलाई अमेरिकाले सुरूमा भिसा नदिएपछि उनले विश्वकप गुमाउने क्लबले जानकारी दिएको थियो।
अमेरिकाले भिसा नदिनुमा उनी केही वर्ष अघि चोरीमा संलग्न रहेको र दोषी पाइएको घटनाको प्रभाव रहेको रोयटर्सले उल्लेख गरेको थियो। तर क्लबले पुनः गरेको भिसाको प्रकृयामा अमेरिकाले उनलाई भिसा दिन स्वीकार गरेको छ।