एजेन्सी- वर्ल्ड टेस्ट च्याम्पियनसिपमा साविक विजेता अस्ट्रेलियाले, दक्षिण अफ्रिकाविरुद्ध बलियो सुरुवात गरेको छ । पहिलो दिन कुल १४ विकेट खस्यो ।
इङल्यान्डको लन्डनस्थित लर्ड्समा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियाले पहिलो इनिङसमा २ सय १२ रन बनायो । ६७ रन चार विकेटको स्थितिमा रहेको अस्ट्रेलियालाई स्टिभ स्मिथ र बेउ वेब्स्टरले बचाए । २० बल खेलेका उस्मान ख्वाजाले खाता खोल्न सकेनन् । क्यामरुन ग्रिन चार रनमा मैदान बाहिरिए । मार्नस लावुसेनले पनि मात्र १७ रन जोडे । ट्राभिस हेड ११ रनमा आउट भएका थिए ।
स्मिथ र वेब्स्टरबीच पाँचौ विकेटका लागि ७९ रनको साझेदारी भएपछि अस्ट्रेलिया सम्हालिएको थियो । स्मिथले ६६ र वेब्स्टरले ७२ रनको योगदान गरे । एलेक्स क्यारीले २३ रन जोडे । कप्तान प्याट कमिन्स र मिचेल स्टार्क भने एक-एक रनमा मैदान बाहिरिएका थिए । अस्ट्रेलियाको अन्तिम ५ विकेट मात्र १८ रनमा खसेको थियो । कागिसो रवाडाले पाँच विकेट लिए । मार्को यानसेनले तीन, केशव महाराज र एइडेन माक्रमले एक-एक विकेट लिए । अस्ट्रेलियन बलरले पनि उत्कृष्ट पुनरागमन गरेका छन् ।
स्टम्पसम्म दक्षिण अफ्रिकाका चार ब्याटर पभेलियन फर्किइसकेका छन् । दक्षिण अफ्रिका ४३ रन चार विकेटको स्थितिमा छ । माक्रमलाई मिचेल स्टार्कले शून्यमा बोल्ड गरे । रायन रिकल्टन स्टार्ककै बलमा १६ रनमा आउट भएका हुन् । वियान मुल्डरलाई ६ रनमा कमिन्सले क्लिन बोल्डको शिकार बनाए । ट्रिस्टन स्टिब्स २ रनमा जस हेजलउडको बलमा आउट भएका थिए । कप्तान टेम्बा बाभुमा ३ र डेविड बेडिङगम ८ रन बनाएर क्रिजमा छन् ।