राष्ट्रपति रनिङ खेलकुद: प्रवीण राना र संगीता विकद्वारा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

जेष्ठ २८, २०८२ |खेल ब्युरो
राष्ट्रपति रनिङ खेलकुद: प्रवीण राना र संगीता विकद्वारा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं । बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । प्रविणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रविणले निर्धारित दूरी १० दशमलव सात-छ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १० दशमवल ९-० सेकेन्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डल दोस्रो तथा लुम्बिनी प्रदेशका शुभम् बमरेल तेस्रो भए ।

संगीताले निर्धारित दूरी १ मिनेट शून्य एक दशमलव १९ सेकेन्डमा पूरा गरेकी हुन् । संगीताले २०७६ सालमा अरुणा रिजालले बनाएको १ मिनेट शून्य-एक दशमवल तीन-शून्य सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । बागमतीकी अनिशा थारू दोश्रो र कर्णालीकी कृष्णा राना तेश्रो बने ।

छात्रा १ सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले १२ दशमवल ८१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरूशी भट्टराई दोस्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो भए ।

छात्र ४ सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१ दशमबल ८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांस्य हात पारे । 

छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो, सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोस्रो तथा गण्डकीका विवेक महतो तेस्रो भएका छन् । छात्रामा सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् । 

गण्डकीकी सविता खातुन मिया दोस्रो तथा कर्णालीकी हीरा बुढा तेस्रो बने । सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । लुम्बिनीका राजन भण्डारी दोस्रो तथा कर्णालीका केशव विक तेस्रो भए । 

छात्रामा बागमतीकी एलिना विकले स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य जिते । छात्रा १ हजार ५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । बागमतीकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए ।