काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको १५औं संस्करण बुधबार सुरू भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आज प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन आज साँझ भएपनि खेलहरु भने सुरू भइसकेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका ६ सय ८६ खेलाडी सहभागी छन् । उनीहरूले ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दोका खेल समावेश गरिएको छ । उद्घाटन समारोहमा सातै प्रदेशका टिमले मार्च पास गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो प्रतियोगिता खेलाडी उत्पादनको प्रमुख आधार भएको बताउनुभयो । उहाँले प्रतियोगिता विकसित र परिष्कृत गर्दै लैजानु पर्नेमा समेत जोड दिनुभएको छ ।