काठमाडौं । फ्रेन्च ओपनको खेल तालिका व्यवस्थापनको आलोचना भइरहेका बेला साविक विजेता इगा स्वान्तेकले महिला टेनिसको मनोरञ्जनात्मक पक्षलाई प्रमाणित गरेको बताएकी छन।
ज्याकुलिन क्रिस्टियनसँगको गएरातिको खेलको महत्वलाई थप प्रमाणित गरिरहनु नपर्ने भन्दै सो खेल रोमाञ्चक भएपनि महत्वपूर्ण समयमा नखेलाइएकोमा गुनासोसमेत गरिन्।
क्ले कोर्ट प्रतियोगितामा साँझको मुख्य समयमा मात्र एक खेल आयोजना गरिन्छ। यद्यपि, पहिलो छ दिनमा कुनै पनि महिला खेलाडीको खेल यस समयमा समावेश भएको थिएनन्।
महिला एकल खेल अन्तिमपटक जुन ४, २०२३ मा कोर्ट फिलिप शात्रिएमा आर्यना सबालेन्का र स्लोन स्टेफेन्सबीचको चौथो चरणको भिडन्तमा रातको समयमा खेलाइएको थियो।
स्वान्तेकले रोमानियाकी ज्याकुलिन क्रिस्टियनलाई ६-२ र ७-५ ले हराएपछि आफूलाई जुन तालिका दिइन्छ, त्यसमा आफूलाई ढाल्ने गरेको तर यो तालिका बराबरी हुनु पर्ने बताएकी छन।
महिला टेनिसको सर्वोच्च निकाय डब्लुटिएले रोयटर्सलाई पठाएको इमेलमा सबै संयुक्त प्रतियोगिताले महिला र पुरूष टेनिस दुवैलाई मुख्य समयमा बराबरी स्थान दिनुपर्ने सन्देश दिएको सार्वजनिक गरेको छ।
यसै साता, तीन पटक ग्रान्ड स्लाम उपविजेता ओन्स जबेउरले यो बहसलाई पुनः जीवित बनाइन्। रात्रीकालीन खेलहरू फ्रान्समा अमेजनको प्राइम सेवाले मात्र प्रशारण गर्ने व्यवस्था छ।
फ्रेन्च ओपनका निर्देशक एमेली मोरेस्मोले भनेकी छन् कि महिला खेलहरू तीन सेटमा समाप्त हुने भएकाले चाँडै सकिन सक्छन्। त्यसैले यो समयमा थप खेल समावेश गर्नु व्यवहारिक नभएको उनले स्पष्ट पारिन्।