अल्काराज फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश

जेष्ठ १७, २०८२ |खेल ब्युरो
अल्काराज फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश

काठमाडौं । साविक विजेता कार्लोस अल्काराज फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन। रोलाण्ड ग्याराेसमा शुक्रबार राति अल्काराजले बोस्नियाका अनुभवी खेलाडी डामिर जुहमुरलाई चार सेटमा हराउँदै अर्को चरणमा स्थान सुरक्षित गरेका हुन्।

दोस्रो वरीयताका अल्काराजले खेलको सुरूवाती दुई सेटमा उत्कृष्ट प्रदर्शन गरे। पहिलो सेटमा उनले २७ मिनेटमै ६-१ को सहज जित दर्ता गरे। दोस्रो सेटमा पनि बोस्नियाली खेलाडी जुहमुरको चुनौतीलाई सजिलै पराजित गर्दै ६-३ को जित निकाल्न सफल भए। तर तेस्रो सेटमा अल्काराजको खेलमा केही कमजोरी देखियो। 

तेस्रो सेटमै जुहमुरले ग्रोइन इन्जुरीका कारण मेडिकल टाइमआउट लिए। त्यो समयमा उनी ३-२ ले पछि परेका थिए। त्यसपछि जुहमुरको खेलमा परिवर्तन आयो र उनले अल्काराजलाई दबाबमा पार्दै तेस्रो सेट ६-४ ले जिते। 

जुहमुरले त्यसपछि खेललाई रोचक मोडमा पुर्‍याएर २-१ को अवस्थामा लगे । चौथो सेटमा पनि जुहमुरले ३-१ को अग्रता लिएका थिए। तर, अल्काराजले अन्तिम समयमा खेलमा कमब्याक गरेर सेटलाई ६-४ ले आफ्नो पक्षमा पारे । 

जितसँगै अल्काराजले चौथो चरणमा अमेरिकी १३औं वरीयताका बेन शेल्टनसँगको भिडन्त पक्का गरेका छन।