काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनको काम थालिसकेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले पूँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको बताउनुभयो ।
उहाँले आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा गरेको सुधारले पूँजीगत खर्च बढ्ने र मितव्ययिता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्ने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको र वन क्षेत्रको जग्गा उपयोगमा सरल बनाइएको पनि उल्लेख गर्नुभयो ।
सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको, राष्ट्रिय परिचयपत्रलाई मुख्य आधार मानेर सामाजिक सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित गराइएको तथा विदेशी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको प्रस्ताव गरिएको दाबी अर्थमन्त्री पौडेलको छ ।