काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको बजेट झन्डै दोब्बरले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को बजेटमा मन्त्रालयले इतिहासकै सबैभन्दा धेरै ६ अर्ब ८ करोड रुपैयाँ बजेट पाएको हो । गत वर्ष मन्त्रालयले ३ अर्ब ५० करोड बजेट पाएको थियो ।
गत वर्षको बजेटमा समावेश भएका मूलपानी क्रिकेट रंगशाला, फाप्ला र सिद्धार्थ क्रिकेट रंगशालाले बजेटमा निरन्तरता पाएका छन् । त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव क्षेत्र रहेको दमकमा बहुउद्देश्यीय अत्याधुनिक रंगशालाका लागि बजेट विनियोजन भयो । यी पूर्वाधारको लागि ४२ करोड विनियोजन भएको छ भने त्रिवि क्रिकेट मैदानका लागि सरकारले ४० करोड रुपैयाँ छुट्याएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रीयस्तरका खेलाड़ी उत्पादन र खेल प्रतियोगिता प्रवर्द्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गर्ने बजेटमा उल्लेख छ । त्यस्ता खेल पूर्वाधारका लागि सरकारले सड़क, खानेपानी र बिजुलीको पहुँच सुनिश्चित गर्नेछ। सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युट स्पोर्ट्स स्टेडियमका लागि बजेट विनियोजन भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सृतिज सम्पत्ति खरिद गर्नका लागि शःसर्त अनुदानका लागि आवश्यक बजेट विनियोजन भएको छ । त्यसैगरी, दशौं राष्ट्रिय खेलकुदको भने बजेट घटेको छ । राष्ट्रिय खेलकुदका लागि गत आर्थिक वर्षमा ६० करोड रुपैयाँ विनियोजन भएको थियो । तर, प्रतियोगिता आयोजना नभएपछि आगामी आर्थिक वर्षमा प्रतियोगिता सम्पन्न गर्न ६ करोड रुपैयाँ घटाएर ५४ करोड बजेट विनियोजन भएको छ ।
एन्टी डोपिङ एजेन्सी, खेलाडी प्रोत्साहन, खेलाडीको सन्ततिलाई शौक्षिक प्रोत्साहन, महिला खेलाडीलाई विशेष पुरस्कार र हरेक प्रदेशमा स्पोर्ट्स एकेडेमी सञ्चालनका लागि बजेट विनियोजन भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७६–७७ मा यसअघिको सबैभन्दा धेरै ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ बजेट पाएको थियो । त्यसपछि, अहिलेको बजेट नै सबैभन्दा बढी हो ।
तर, तत्कालै मर्मत गर्नुपर्ने साथै अन्तर्राष्ट्रिय मान्यता समेत गुमाइसकेको दशरथ रंगशालाबारे भने बजेटमा केही उल्लेख छैन । त्यसैगरी, पनर्निर्माणको पर्खाइमा रहेका नारायणी, धनगढी, विराटनगर र इटहरी रंगशालाका लागि पनि बजेट छुट्याइएन ।
पोखरा क्रिकेट मैदानको अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि बजेट विनियोजन भएन । पोखरामा सन् २०२७ मा आईसीसी अन्डर नाइन्टिन महिला विश्वकप आयोजना गर्ने तयारी थियो ।