काठमाडौं । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला भलिबल प्रतियोगिताबाट २१ लाख रूपैयाँभन्दा बढी बचत भएको छ ।
बुधबार सार्वजनिक गरिएको आय-व्याय विवरणअनुसार गत माघ १२ देखि २० सम्म आयोजित प्रतियोगिताबाट कुल १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रूपैयाँ आम्दानी भएको र १ करोड ५० लाख ८८ हजार ५ सय ६५ रूपैयाँ खर्च भएको जानकारी आयोजक अध्यक्ष नारायणप्रसाद शर्माले दिएका छन ।
९ दिनसम्म चलेको प्रतियोगितामा टिकट बिक्रीबाट सन्ताउन्न लाख ३९ हजार रूपैयाँ आम्दानी भएको बताइएको छ । त्यस्तै, सहयोग रकममा संघ-संस्था, व्यक्तित्व र विदेशी स्रोतबाट ५६ लाख ५० हजार रूपैयाँ प्राप्त भएको थियो ।
प्रमुख प्रायोजक एनसेलबाट १७ लाख, सहप्रायोजक सुश्री मिडियाबाट १६ लाख, गण्डकी प्रदेश खेलकुद परिषद् र पोखरा महानगरपालिकाबाट समान १० लाख, र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख सहयोग जुटाइएको थियो ।
सबैभन्दा बढी खर्च ५९ लाख २८ हजार रूपैयाँ स्वदेश तथा विदेशी टोलीको आवास, यातायात र व्यवस्थापनमा भएको थियो । पुरस्कारमा २२ लाख रूपैयाँसहित अन्य विभिन्न शीर्षकमा खर्च गरिएको थियो ।
प्रतियोगितामा पुरूषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप विजेता बनेका थिए । अध्यक्ष शर्माले छाैँठौं टाइगर कप प्रतियोगिता माघ ९ देखि १७ सम्म पोखरा रंगशालाको खुला भलिबल कोर्टमा आयोजना गरिने जानकारी दिएका छन ।