सबालेन्का र स्वियातेकले सहज जित निकाल्दै तेस्रो चरणमा स्थान बनाउन सफल

जेष्ठ १५, २०८२ |खेल ब्युरो
सबालेन्का र स्वियातेकले सहज जित निकाल्दै तेस्रो चरणमा स्थान बनाउन सफल

काठमाडौं । फ्रेन्च ओपन ग्रान्ड स्ल्याम टेनिसमा शीर्ष वरियताका दुई खेलाडी आरिना सबालेन्का र इगा स्वियातेकले सहज जित निकाल्दै तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन ।

विश्व नम्बर एक बेलारूसकी सबालेन्काले स्वीट्जरल्याण्डकी जिल टेइच-म्यानलाई ६-३ र ६-१ ले हराउँदै प्री-क्वाटरफाइनलतर्फ अघि बढेकी हुन् । अब उनले सर्बियाकी ओल्गा डानिलोभिचसाग प्रतिस्पर्धा गर्नेछिन् । 

डानिलोभिचले अमेरिकाकी खेलाडी ड्यानिएल कोलिन्सलाई ६-४, ३-६ र ६-४ ले हराएकी थिइन् । त्यस्तै, पोल्याण्डकी इगा स्वियातेकले बेलायतकी एमा राडुकानुलाई एकतर्फी खेलमा ६-१, ६-२ ले हराउँदै आफ्नो फ्रेन्च ओपन यात्रालाई अगाडि बढाएकी छन । 

स्वियातेकले खेलमा ३२ विनर प्रहार गरिन् । राडुकानु केवल ८ मा सीमित रहिन् । राडुकानुविरूद्ध स्वियातेकको लगातार पाँचौं जित हो । डिफेन्डिङ च्याम्पियन स्वियातेकले फ्रेन्च ओपनमा लगातार २३ औं जित समेत दर्ता गरिन् । अब स्वियातेकले तेस्रो चरणमा रोमानियाकी ज्याक्वेलिन क्रिस्टियानको सामना गर्नेछिन् ।